neapl investment mega bank
  • गृहपृष्ठ
  • काँग्रेसद्वारा ‘लकडाउन’को जटिलता न्यून बनाउन सुझाव

काँग्रेसद्वारा ‘लकडाउन’को जटिलता न्यून बनाउन सुझाव

Mar 24th, 2020

काठमाडौँ, ११ चैत (रासस)

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९)को जोखिम सामना गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’को निर्णयलाई आत्मसात् गर्दै पालना गर्न सबैमा अपिल गरेको छ । साथै यो समयको प्रतिकूलतालाई संयम, एकता र पारिवारिक प्रेमका साथ सामना गर्नु सबैको कर्तव्य भएको सो पार्टीले उल्लेख गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत ‘लकडाउन’को अवधिमा हुने या हुनसक्ने सबै जटिलतालाई सहज बनाउन सरकारले सम्बन्धित संयन्त्रको व्यवस्थित र प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले लकडाउनको अवधि सात दिनबाट लम्बिन पनि सक्ने उल्लेख गर्दै उहाँले त्यस्तो स्थितिमा दिनभरि काम गरेर खाने निम्न बर्गका व्यक्तिका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

लकडाउनको अवधि लम्बिए विद्यार्थी र बेरोजगारको घनत्व धेरै रहेको सङ्घीय राजधानीलगायतको मुख्य शहरी क्षेत्रमा डेरा गरेर बसेका युवाको स्थितिमा जटिलता उत्पन्न हुनसक्ने बताउँदै प्रवक्ता शर्माले सरकारका सम्बन्धित निकायले बेरोजगार र विद्यार्थीका लागि विशेष राहत योजना अविलम्ब निर्माण गरेर यस्तो स्थिति सामना गर्न सघाउ पु¥याउनुपर्ने सुझाव दिनुभएको छ ।

जोखिमसँग जुध्न दैनिकरूपमा सही सूचना र तथ्य सम्प्रेषण गर्ने कार्यमा सरकारले एकद्वार प्रणाली तत्काल निश्चित गर्नुपर्ने, खाद्यान्न, पानी, अन्य रोगका औषधि एवं ग्यास, मट्टितेललगायतको अभाव असहजता हुनसक्ने स्थिति आउन नदिन सङ्घीय सरकारले तिनै तहको सरकारबीच समन्वय गरी भरपर्दो सुनिश्चितता मिलाउनुपर्ने काँग्रेसको भनाइ छ ।

प्रवक्ता शर्माले वर्तमान कठिन अवस्थामा नागरिकलाई सुसूचित गर्ने राज्यको चौथो अङ्ग सञ्चारमाध्यम एवं पत्रकारलाई विभिन्न रुपले प्रोत्साहित, सुरक्षित र संरक्षण गर्ने कर्तव्य राज्यले निभाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले सरकारलाई उक्त सबै आग्रह लकडाउनपूर्व नै आफूहरुले आन्तरिक संवादमार्फत गरिसकेको जानकारी दिँदै यस्तो बेला सरकारलाई सघाउनु सबैको कर्तव्य भएको र आफूहरु पनि यो दायित्व निभाउन निरन्तर लागिरहने बताउनुभएको छ ।