neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रियसभा उपाध्यक्षद्वारा कोरोना नियन्त्रण कोषमा एक महिनाको तलब

राष्ट्रियसभा उपाध्यक्षद्वारा कोरोना नियन्त्रण कोषमा एक महिनाको तलब

Mar 24th, 2020

काठमाडौँ, ११ चैत (रासस)

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक महिनाको तलब प्रदान गर्नुभएको छ । उपाध्यक्ष दाहालले सङ्घीय संसद्, सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिनुभयो ।

उपाध्यक्ष दाहालले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमण जोखिम नेपालमा पनि रहेकाले सङ्क्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन अनुरोध गराउनुभएको छ । कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा कोष स्थापना गर्दै रकम जम्मा गर्न आग्रह गरेको छ ।
उपचार कोषमा यसअघि प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभा अध्यक्षले एकएक महिनाको तलब जम्मा गर्नुभएको थियो ।