neapl investment mega bank

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Mar 23rd, 2020

काठमाडौं, १० चैत

दाङ, लमही नगरपालिका-६ बेलदमारस्थित सडकमा रा.३ प ५४३० नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा स्कुटर चालक घोराही उपमहानगरपालिका-१८ बस्ने २५ वर्षीय अमित कुमार धामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी दाङ, गढवा गाउँपालिका-१ जुरौनीस्थित सडकमा बा.६ ख ३९६७ नम्बरको बसले रा.१ ब ८१८ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक रुकुम त्रिवेणी गाउँपालिका-५ खारा बस्ने २७ वर्षीय गणेश पुन मगर र रोल्पा गंगादेब गाउँपालिका-४ घर बस्ने २४ वर्षीय रमेश वलीको रहेका छन् ।

मगरको घटनास्थलमै र वलीको स्थानीय मेडिकल भालुवाङ दाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही मेडिकलमा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-८ खर्कट्टा जंगलस्थित सडकमा ना.४४ प ४६२ नम्बरको स्कुटर र लु.४८ प ११३० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा सोही ठाउँ बस्ने ८ वर्षीय जिवन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रे, चौरीदेउराली गाउँपालिका-५ बालुवास्थित सडकमा अनटेस्ट लखिएको ट्याक्टरले सोमबार दिउँसो किच्दा सोही ठाउँ बस्ने प्रकाश चौलागाइको ५ वर्षीय छोरा सम्राट चौलागाइको घटनास्थलमै मृत्यु भएको छ । सडकमा रोकी राखेको अवस्थामा उक्त ट्याक्टरमा खेल्ने क्रममा ट्याक्टर गुडेर किच्दा उनको मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।