neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना रोकथाम सतर्कतामा ध्यान दिन साझा पार्टीको आग्रह

कोरोना रोकथाम सतर्कतामा ध्यान दिन साझा पार्टीको आग्रह

Mar 23rd, 2020

चिप्लेढुङ्गा, १० चैत (रासस)

कोरोनाको पूर्वतयारीका बारेमा साझा पार्टीले पोखरा विभिन्न अस्पतालका बारेमा जानकारी लिएको छ । साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला संयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगायतमा पुगेर यसबारे जानकारी लिएको हो ।

साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारीको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पतालमा कोरोना रोकथाम र पूर्वतयारी आंशिक देखिए पनि पूर्ण नभएको र अझै गम्भीर भएर तयारी गर्नुपर्ने देखिएको बताएको छ । प्रदेश र स्थानीय सरकारले बाहिर प्रचार गरेको अवस्था अस्पतालमा पुग्दा नभएको भन्दै प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ । कास्की जिल्ला संयोजक अर्जुन खनालले भन्नुभयो, “हामी हरेक अस्पतालमा गयौँ तर त्यहाँ कार्यरत डाक्टर एवं कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री नभएकाले उनीहरु नै त्रसित अवस्था रहेको भेट्यौँ । अन्य कुरामा पनि संवेदनशीलता देखिएको छैन ।”

साझा पार्टीले सरकारसँगै सम्बन्धित निकायलाई यस विषयमा अझ बढी सचेत हुन सुझावसमेत दिएको छ । सरकारले आवश्क तयारी गरिरहँदा चाहिने स्वयम्सेवी सहयोगी हातहरु अगाडि बढाउन साझा पार्टी सधँै तयार रहेको अर्का केन्द्रीय सदस्य रजनी केसीले बताउनुभयो । साझा पार्टीले सबै प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि मास्क तथा सानिटाइजर वितरण गरेको उहाँको भनाइ थियो । यो विषम परिस्थितिमा मिडियाले जनतालाई सकारात्मक र आधिकारिक सूचना प्रवाह गर्दै जनचेतनामूलक सन्देश प्रवाहलाई जोड दिनुपर्ने बताउनुभयो ।

विन्ध्यवासिनी मन्दिरमा पूजा गर्न रोक

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन चैत ११ गतेदेखि विन्ध्यवासिनी मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने यो मन्दिरमा चैत मसान्तसम्मका लागि पूजाआजा गर्न रोक लगाइएको उहाँले बताउनुभयो । मन्दिरको दैनिक नित्य पूजाबाहेकका अन्य सबै पूजाआजा तथा धार्मिक गतिविधि गर्न रोक लगाएको उहाँले बताउनुभयो ।

सचिव तीर्थ श्रेष्ठले मन्दिर परिसरमा समितिको मातहतमा पूजा सामग्रीको पसल सञ्चालन गरिरहेका व्यवसायीलाई सटर भाडामा चैत महिनाका लागि ६६ प्रतिशत र एम्बुलेन्स भवनका सटरको भाडामा ५० प्रतिशत पनि विशेष छुट दिने निर्णय समितिले गरेको जानकारी दिनुभयो । पोखरा महानगरपालिका–२ स्थित सो मन्दिरमा दैनिक तीन हजारभन्दा बढी सर्वसाधारण भक्तजनले पूजा गर्ने गरेका छन् । धार्मिक हिसाबले पोखराको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यका रुपमा यो मन्दिरलाई लिने गरिन्छ । समितिले विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र र विन्ध्यवासिनी गुरुकुल पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । ९तस्वीर उपलब्ध छ ०