काठमाडौं, १० चैत
विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भिडभाड हुने र जोखिम बढी हुने १६ स्थानमा सर्वसाधारणलाई हात धुनको लागि साबुन सहित पानीट्याङकी राखेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले वित्तिय संस्थासँगको सहकार्यमा काठमाडौं, ललितपुर र भक्तपुरका बढी भिडभाड हुने स्थानहरूमा पानीट्याङकी राखिएको जानकारी दिनुभयो । सरकारले कोरोना भाइरस रोकथामको लागि अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरी बढी भिडभाड हुन नदिने लगायतका कार्यहरू सार्वजनिक गरेको अवस्थामा महानगरीय प्रहरी कार्यालयले आफ्नो तर्फबाट सतर्कता अपनाउँदै नागरिक सहजताको लागि उक्त व्यवस्था गरेको उहाँले बताउनुभयो । साबुन पानीले हात धुने, स्यानीटाईजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको राय अनुसार उपत्यकामा सर्वसाधारण नागरिकहरूको सहजताको लागि उक्त कार्य गरिएको बताउँदै उहाँले सार्वजनिक स्थानहरूमा राखिएको साबुन पानीले हात धुन सबैमा आग्रह गर्नुभयो ।
प्रहरी कर्मचारीहरूको लागि माक्स वितरण गरिएको समेत उहाँले जानकारी दिनुभयो । कोरोना भाईरसको महामारी नियन्त्रण नभए सम्मको लागि बढी भिडभाड हुने स्थानहरू रत्नपार्क, बानेश्वर, गौशाला, केएमसी अस्पताल सिनामंगल, महाराजगंज चोक, शिक्षण अस्पताल लगायतका स्थानहरूमा आइतबारदेखि पानिट्याङ्की राखिएको र प्रसुती गृह थापाथली, टेकु अस्पताल, पाटन अस्पताल लगायत ललितपुर र भक्तपुरका बढी भिडभाड हुने र जोखिम बढी हुने स्थानहरूमा सोमबारभित्र राखिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।