तेहरान, ९ चैत (रासस/एएफपी)
इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताउनुभएको छ ।
आइतबार इरानमा थप १२९ जनाको मृत्यु भएको छ । इरानमा कोभिड–१९का कारण अहिलेसम्म एक हजार ६८५ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय पहिले इरानी नेताले चाहेमा अमेरिकाले कोभिड–१९ विरूद्धको लडाईँमा सहयोग गर्नसक्ने भनाईको जवाफमा सर्वोच्च नेता खामेनीले उक्त प्रतिक्रिया दिनुभएको हो ।
एक इरानी राष्ट्रिय टेलिभिजनमार्फत जनताको नाममा गरेको सम्वोधनमा धार्मिक नेता खामेनीले अमेरिकी राष्ट्रपतिको गत फेब्रुअरी २९ मा इरानबारे राखेको प्रस्तावलाई इन्कार गर्दै भन्नुभयो, “तपाईँलाई कसैले विश्वास गर्दैन । तपाईले इरानमा सहयोगको नाममा ल्याउने औषधी इरानको नागरिकको पक्षमा हुनेमा हामीलाई विश्वास छैन ।”
इरानमा २१ हजार ६३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने विगत २४ घण्टामा थप एक हजार २८ विरामीमा सङ्क्रमण देखिएको छ ।
खामेनीले इरानले अमेरिकी सहयोगलाई अस्वीकार गर्नेबारे दोहोराउँदै र वासिङ्टनलाई इरानविरोधी शत्रुको आरोप लगाउँदै भन्नुभयो, “हामीले अमेरिकासँग ४० वर्षदेखि कूटनीतिक सम्बन्ध राखेका छैनौँ र उसले इस्लामिक गणतन्त्रमा भाइरस निर्मूलका नाममा उल्टै फैलाउन सक्छ भन्ने बुझेका छौँ ।” उहाँले अहिले इरानले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रूपमा लिएको बताउनुभयो ।
हामीले अमेरिकीलाई यही अवस्थामा सहयोगका लागि याचना गर्ने सम्भावना नै छैन । उहाँले अमेरिकाले अहिले आफ्नो शक्ति नागरिकको सुरक्षाका लागि प्रयोग गर्न सुझाब राष्ट्रपति ट्रम्पलाई दिनुभयो ।