काठमाडौँ, ९ चैत (रासस)
विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरण र विविध विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक भएको छ । बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय र तिनका कार्यान्वयनबारे समीक्षा हुने जनाइएको छ । बैठकमा छिमेकी मुलुकसँगका विभिन्न सीमा नाका केही समयमा लागि बन्द गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । सामान्यत ः मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक हुँदै आएकामा जरुरी महत्वका विषय भएकाले आजै सार्वजनिक गरिने भएको छ ।
गत फागुन २१ गते प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठक अघि प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी कोभिड १९ को जोखिमबाट बच्न आव्हान गर्दै हवाई र स्थलमार्गबाट अपनाउनुपर्ने सावधानी, जोखिमयुक्त स्थानबाट आवागमन रोकका साथै आजदेखि यही चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गर्नुभएको थियो ।