neapl investment mega bank
  • गृहपृष्ठ
  • कवाडी सामग्री ल्यान्डफिल साइटबाट सङ्कलन गर्न निषेध

कवाडी सामग्री ल्यान्डफिल साइटबाट सङ्कलन गर्न निषेध

Mar 21st, 2020

काठमाडौँ, ८ चैत (रासस)

काठमाडौँ महानगरपालिकाले कोभिड—१९ को जोखिम हुन नदिन ल्यान्डफिल साइट क्षेत्रबाट कवाडी सामान सङ्कलन गर्न निषेध गरेको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोट ककनीको ल्यान्डफिल साइटबाट हरेक दिन कवाडी सामग्री सङ्कलन हुने गर्दथ्यो । विगत १३ वर्षदेखि सो स्थानमा फोहर व्यवस्थापन हुँदै आएको थियो ।

सफाइ कर्मचारीलाई अनिवार्य मास्क, पञ्जा, टोपी र जुत्ता लगाउन आग्रह गरिएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिनुभयो । त्यस्तै आइतबारदेखि विभागको प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिनेभएको छ । टेकुस्थित ट्रान्सफर स्टेशन, सिसडोलस्थित ल्यान्डफिल साइट र फोहर ढुवानी हुने सडकमा कीटनाशक औषधि छर्कने मात्रा बढाइने भएको छ । जोखिमपूर्ण सेवामा काम गर्ने कर्मचारीको बीमा प्रक्रिया विभागले अघि बढाएको छ ।

विभागले आजै एक सूचना जारी गर्दै महानगरवासीलाई जथाभावी फोहर सडकमा ननिकाल्न अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिममा रहेकाले यस जोखिमपूर्ण अवस्थामा सरसफाइसम्बन्धी काममा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सूचनामा भनिएको छ, “आ–आफ्नो घर/पसल/उद्योग/कलकारखाना/व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहरलाई कुहिने र नकुहिने भागमा छुट््याएर तोकेको समय र गाडी आएको समयमा मात्र बाहिर निकाल्न आग्रह गरिन्छ ।” विभागले कुहिने फोहरलाई सकेसम्म आफैँ व्यवस्थापन गर्न र नकुहिने फोहर मात्र निश्चित समयमा बाहिर निकाल्न आग्रह गरेको छ ।