neapl investment mega bank

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Mar 20th, 2020

काठमाडौं, ७ चैत

महोत्तरी, मनराशिश्वा नगरपालिका-८ कटैयास्थित सडकमा ज.१ त ५२४१ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने मस्लाउदिन अन्सारीको १४ वर्षीय छोरा मन्जर अन्सारीको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि स्थानीय क्लिनिकमा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मी, चन्द्रकोट गाउँपालिका-८ तुराङ्गस्थित सडकमा लु.२ च ७७५१ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिप चालक २४ वर्षीय मनिष जिसिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनालाई स्थानीय मेडिकल हुँदै थप उपचारका लागि मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

अर्घाखाँची, शितगंगा नगरपालिका-७ जुवाकोटस्थित सडकमा बा.३ क ३८४६ नम्बरको स्काईभेटरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४५ बर्षीय पुरुषको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । स्काईभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोल्हवी नगरपालिका-११ स्थित सडकमा ना.५५ प ४६७८ नम्बरको मोटरसाइकल शुक्रवार बिहान अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका सानो बेलवा बस्ने ४५ वर्षीय वाजिल राय भट्टको मृत्यु भएको   छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।