neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनको तयारीमा सरकार, त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित नगर्न आग्रह

लकडाउनको तयारीमा सरकार, त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित नगर्न आग्रह

Mar 20th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, ७ चैत्र

सरकारले कोरोना भित्रन नदिन विभिन्न गर्दै मुलुक करिव करिव लकडाउनको अवस्थामा पुगेको र आवस्यक पर्ने वित्तिकै पुरै लकडाउन गर्ने तयारीमा छ । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन विभिन्न क्षेत्रमा विशेष सतर्कता अपनाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले कोरोना फैलिन नदिन सिनेमा हल बन्द गर्ने देखि एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सम्मका निर्णय गरेको छ ।

सरकारले गरेका उक्त निर्णयहरु नै लकडाउन अन्तगैत पर्छन् । सरकारले लकडाउनको समयमा एम्बुलेन्स, अग्नि नियन्त्रक, अस्पताल, सुरक्षा निकाय, खानेपानी, फोहोर महिला संकलन, बिजुलीजस्ता आधारभूत आवश्यकता निरन्तर र निर्वाधरुपमा सञ्चालनमा ल्याउने छ । लकडाउनमा पनि अत्यावस्यक वस्तुहरु सरकारले उपलब्ध गराउने भएकोले त्यसैले अहिले आत्तिनु नपर्ने सरकारले जनाएको छ ।

यो निर्णय लागू भएसंगै अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने भएको छ। हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू समेत २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ।

सरकारले कोरोना भइरस (कोभिड१९) को संक्रमण देखिएका पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई समेत रोक लगाएको छ ।

उच्चस्तरीय समन्वय समितिको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

चीनको वुहानमा फैलिएको उक्त भाइरस रोक्न चीनले २० जनावरीमा हुवेई प्रान्त र अन्य प्रान्तबीचको सम्बन्ध तोडिदिएको थियो । कोराना भाइरस मानिसबाट मानिसमा सर्ने भाइरस भएकोले यो रोग फैलन नदिन चीनले लिएको लक डाउन नीति अहिले विश्वका धेरै मुलुकले आफ्नो मुलुकलाई संक्रमणबाट जोगाउनको लागि लिएका छन् । कोरोना कोभिड–१९ को निदानात्मक औषधि नभएको विषम परिस्थीतिमा रोगबाट जोगिने विश्वको एउटै मात्र अस्त्र लकडाउन नै भएको विश्व स्वस्थ्य संगठनले जनाएको छ ।

८ महिना पुग्ने खाद्यान्न सञ्चित

सरकारले कोभिड १९– को विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको छ ।

नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारवाही प्रारम्भ गरेको सरकारले आगामी चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशङ्काले चाहिने भन्दा बढी सामान खरिद नगर्न सरकारले सबैमा आग्रह गरेको हो ।

कोभिड १९– सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नियमित बैठक र विश्लेषण गरी क्षेत्रगत आधारमा कार्यान्वयन र परिचालन गरिरहेको सन्दर्भमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा प्रविधिमन्त्री डा युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसप्रति सचेत भई आम जनतालाई सुसूचित गर्न आग्रह गरेका छन् ।