neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालको बैदेशिक व्यापार सात महिनामा सात खर्ब ३८ अर्बको घाटामा

नेपालको बैदेशिक व्यापार सात महिनामा सात खर्ब ३८ अर्बको घाटामा

Mar 18th, 2020

काठमाडौ, चैत ५

नेपालको बैदेशिक व्यापार चालुु आर्थिक बर्षको सात महिनामा सात खर्ब ३८ खर्ब ६३ करोड रुपैयाँले घाटामा देखिएको छ । नेपाल राष्ट्र बैकले आज सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी सात महिनाको प्रतिवेदन अनुसार कुल वस्तु व्यापार घाटा पाँच दसमलव तीन प्रतिशतले संकुचन भई सात खर्ब ३८ अर्ब ६३ करोडमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २७ दसमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदन अनुसार चालुु आवको सात महिनामा कुल वस्तु निर्यात २२ दसमलव चार प्रतिशतले वृद्धि भई ६४ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दसमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२ दसमलव सात प्रतिशत र अन्य मुलुकतर्फ दुुई दसमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिष्टर तथा अन्य),लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यसैगरी चालुु आवको सात महिनामा कुल वस्तु आयात तीन दमसलव छ प्रतिशतले घटेर आठ खर्ब तीन अर्ब ६० करोड कायम भएको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो आयात २६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात आठ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः नौ दसमलव आठ प्रतिशत र शुन्य दसमलव आठ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल,रासायनिक मल, हटरोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगंज, विराटनगर,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।