रुपन्देही, ३ चैत (रासस)
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार भएको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना प्रदेश योजना आयोगले तयार गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शङ्कर पोखरेल समक्ष आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले अस्पतालको गुरुयोजना बुझाउनुभएको छ । गुरुयोजना बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेश योजना आयोगले सरकारको एउटा अवधारणालाई मूर्तरुप दिने काम पूरा गरेको भन्दै अब योजना पूरा गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभयो ।
यो योजना पूरा गर्न केन्द्र र प्रदेश सरकार मिलेर स्रोत व्यवस्थापन गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री पोखरेलले बुटवललाई व्यावसायिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउँदै भन्नुभयो, “व्यवसायीले पनि जुन अवस्थामा बसेका छौँ त्यही अवस्थामा बस्न पाउनुपर्छ भन्ने चिन्तन हटाउनुहोस्, यो पुरानो चिन्तन हो । यसलाई सरकारले स्वीकार्न सक्दैन ।” मुख्यमन्त्री पोखरेलले सरकारले टहरा भत्काएको कुरामा कुनै अफसोंच नगर्न आग्रह गर्नुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सुविधासहित अत्याधुनिक भवन निर्माणका लागि गुरुयोजना तयार गरिएको बताउनुभयो । गुरुयोजना प्रस्तुत गर्दै इन्टेरियर इञ्जिनीयर विष्णु पन्थीले विशेषज्ञ सुविधासहित अस्पतालको मुख्य भवन र अन्य संरचना निर्माणका लागि रु १४ अर्बको बजेट अनुमान गरिएको जानकारी गराउनुभयो ।