काठमाडौंँ, ३ चैत
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।
निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।
निगमका अनुसार, काठमाडौँमा पेट्रोलका खुद्रा बिक्री मूल्य रु १०६ तथा डिजेल र मट्टीतेलको मूल्य रु.९५ प्रतिलिटर कायम गरिएको छ । पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशैभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ । निगमका अनुसार हवाई इन्धन प्रतिलिटर रु ९० कायम हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ।