neapl investment mega bank
  • गृहपृष्ठ
  • राजस्व संकलनमा कमी, बजेट कार्यान्वयनको लक्ष्य पूरा नहुने जोखिम

राजस्व संकलनमा कमी, बजेट कार्यान्वयनको लक्ष्य पूरा नहुने जोखिम

Mar 16th, 2020

आधारभूमी संवाददाता
काठमाडौ, ३ चैत्र

सरकारले फागुन मसान्त सम्ममा लक्ष्यको ५० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार फागुन मसान्तसम्म सरकारले लक्ष्यको यो लक्ष्यको ४९.१६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

राजस्व संकलन कम भएपछि यस चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयन सफल नहुने भएको छ । आर्थिक वर्ष २०७६/७७ को ८ महिना बितिसक्दा पनि सरकारको बजेट कार्यान्वयनको अवस्था निराशाजनक भएकोले सरकारले अपेक्षाकृत उपलब्धी हासिल गर्न नसक्ने देखिन्छ ।

किनभने सरकारको बजेट खर्चको अवस्था पनि न्यून छ । सरकारले यस अवधिसम्म ३९.८१ प्रतिशत मात्रै बजेट खर्च भएको कार्यालयको तथ्यांक छ । यस अवधिमा चालु खर्च समेत ४७.१० प्रतिशत मात्रै भएको छ । सरकार बजेटको अर्धवार्षिक समीक्षामार्फत ९ खर्ब ४ अर्ब चालु खर्च हुने अनुमान गरेको छ ।

सरकारले यस वर्ष ९ खर्ब ५७ अर्ब चालु खर्च गर्ने लक्ष्य लिइएकोमा ४ खर्ब ४९ अर्ब मात्रै खर्च भएको छ । महालेखाको तथ्याकं अनुसार यसअवधिसम्म सरकारले ५ खर्ब ४६ अर्ब ७१ करोड राजस्व संकलन गरेको छ । भन्सार महसुल संकलनमा कम भएपछि राजस्व संकलनमा सरकारको लक्ष्यमा उपलब्धी हासिल हुन नसकेको हो । गत वर्षको तुलनामा यस अवधिमा ३ प्रतिशतले आयात घट्दा भन्सार राजस्व संकलनमा कमी आएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार लक्ष्य भन्दा २५ प्रतिशतले भन्सार राजस्व घटेको हो । यसको साथै मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क संकलनमा पनि गिरावट आएको देखिन्छ ।

सरकारले यस अवधिमा गरेको पूँजिगत खर्च पनि सन्तोषजनक छैन । चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ जसमध्ये ८ महिनाको अवधिमा २३.६४ प्रतिशत अर्थात् ९५ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।