neapl investment mega bank
  • गृहपृष्ठ
  • हुलाकी राजमार्ग विस्तार गर्न घर भत्काइँदै

हुलाकी राजमार्ग विस्तार गर्न घर भत्काइँदै

Mar 16th, 2020

तुलसीपुर, ३ चैत (रासस)

हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तर्गत सो राजमार्गभित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिनुभयो ।

सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गर्दा पनि सम्बन्धित घरधनीले अटेर गरेपछि गाउँपालिका आफँैले टहरा हटाउन शुरु गरेको उहाँले बताउनुभयो । “हामीले हुलाकी राजमार्गअन्तर्गत सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गरेका थियौँ”, अध्यक्ष यादवले भन्नुभयो, “तर अटेर गरेपछि गाउँपालिकाले डोजर चलाएर हटाउन शुरु गरेका हाँै ।

अहिले सडक विस्तारको काम अघि बढिसकेको जनाइएको छ । “घर टहराले गर्दा राजमार्ग विस्तारमा समस्या हँुदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले भने टहरा हटाएपछि राजमार्ग विस्तारमा सहज हुँदै गएको छ ।”

जग्गाको मुआब्जा पाएर पनि केहीले घरको मुआब्जा पाउनुपर्छ भन्ने माग राखेकाले पनि यस्तो समस्या आएको थियो । केहीले जग्गा बैंकमा राखेर ऋण लिएकाले पनि मालपोत कार्यालयले जग्गा रोक्का गरेको छ । त्यही कारणले पनि केहीलाई मुआब्जा वितरणमा पनि समस्या हुँदै आएको अध्यक्ष यादवले बताउनुभयो ।

सडक निर्माण गर्दा लमहीदेखि कोइलावाससम्मै धेरै समस्या भएको सडक निर्माण कम्पनी कालीका कुमार जेभीका प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । धेरैजसो स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको उहाँले बताउनुभयो । “अहिले दाङ खण्डमा निर्माणको काम पूरा गर्ने समय सकिनै लागेको छ”, उहाँले भन्नुभयो, “स्थानीयकै अवरोधकै कारण सडक निर्माण ढिला हुँदै गएको छ ।”

लमहीमा पनि भत्काइने

हुलाकी राजमार्गअन्तर्गत लमही नगरपालिका खण्डमा घर टहरा भत्काउने तयारी थालिएको छ । यसका लागि घरको अभिलेख लिने कार्य भइरहेको नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । “हामीले पनि हुलाकी राजमार्गअन्तर्गत सडक मिचेका घरहरु भत्काउने तयारी थालेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि अहिले घरको अभिलेख तयार पार्ने काम गरिरहेका छौँ ।”

पूर्व–पश्चिम राजमार्गदेखि लमही बजार हुँदै कोलहीको बगइसोतासम्म सडक मिचेर बनाएका घर भत्काउनका लागि अभिलेख तयार पार्ने काम भइरहेको जनाइएको छ । अभिलेख सङ्कलन गरेपछि सर्वदलीय बैठक बोलाएर घर हटाउने विषयमा छलफल गर्नेसमेत नगरप्रमुख केसीले बताउनुभयो । उहाँले लमही बजार क्षेत्रका धेरैजसो जग्गाधनीले जग्गाको मुआब्जा पाइसकेको र केहीले आफ्नै कारणले पाउन नसकेको जानकारी दिनुभयो । भत्काउने घरको अभिलेख निकालेपछि मुआब्जाको लागि हुकाली राजमार्ग कार्यालय पठाउने र कार्यालयको निर्णयअनुसार काम अगाडि बढाइने प्रमुख केसीको भनाइ छ ।