neapl investment mega bank
  • गृहपृष्ठ
  • इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड १३ लाख , डिजिटल भुक्तानी जम्मा ३ प्रतिशत

इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड १३ लाख , डिजिटल भुक्तानी जम्मा ३ प्रतिशत

Mar 16th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, चैत ३

देशमा रहेका धेरैजसो मानिसहरुको हातमा स्मार्टफोन सँगै टेलिकम सेवा प्रदायकहरुले दिएको इन्टरनेट सेवा समेत पुगेको छ । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड १३ लाख पुगेपनि डिजिटल कारोबार भने जम्मा ३ प्रतिशत मात्रै हुने गरेको छ ।

नयाँ नोट छपाइमा मात्र होइन, नेपाल टेलिकमले रिचार्ज कार्ड छपाइमा वार्षिक २५ करोड रुपैयाँ खर्च गर्दै आएको छ । तर यो बचाउनका लागि नेपाल राष्ट्र बैंकको भने खासै ध्यान गएको छैन ।

राष्ट्र बैंकले नयाँ नोट छाप्न मात्र वर्षेनि करिब एक अर्ब रुपैयाँ खर्च गर्दै आएको छ । नगदरहित कारोबारबाट कर छली मात्र रोकिंदैन आर्थिक अनुशासन र सुशासन प्रबद्र्धनमा ठूलो टेवा पुग्छ । अवैध व्यापार कम गर्न र घुस लेनदेन बन्द गर्न नगदरहित कारोबार राम्रो विकल्प हो । तर यसमा राष्ट्र बैंकको ध्यान पुगेको छैन ।

नगदरहित बैंकिङ सुशासन प्रबद्र्धनदेखि सुरक्षाका दृष्टिले समेत उत्तम मानिन्छ । राष्ट्र बैंक भने नगद कारोबार गराउनमै रमाइरहेको छ । स्मार्टफोन र इन्टरनेटका प्रयोगकर्ता बढेपनि राष्ट्र बैंकले नगदरहित कारोबार अर्थात मोबाइल तथा इन्टरनेट बैकिङलाई प्रबद्र्धन गर्न सकेको छैन ।स्मार्टफोन हुनेले घर वा कार्यालयबाटै मोबाइल रिचार्ज गर्न सक्छन् । तर धेरैजसोले अहिले पनि रिचार्ज कार्ड किन्ने गरेका छन्, स्मार्टफोन फोन गर्न र फोटो खिच्न बढी प्रयोग गर्छन् ।

अहिले मोबाइल तथा इन्टरनेट बैकिङ र डिजिटल वालेटमार्फत मोबाइल रिचार्जका अलावा स्कुल कलेजको फी, इन्स्योरेन्सको किस्ता तथा धारा र बिजुलीको महसुल तिर्न सकिन्छ । सपिङ मलदेखि रेष्टुरेण्टहरुले पनि नगदरहित कारोबार सुरु गरिसकेका छन् । तर राष्ट्र बैंकले भने नगदरहित कारोबारलाई बढावा दिने खालका कार्यक्रम ल्याएको छैन ।

अहिले पनि भुक्तानीमा नगद नै बढी प्रयोग हुन्छ । नगदरहित कारोबारलाई प्रोत्साहित गर्नुभन्दा राष्ट्र बैंकले नगद कारोबारलाई नै प्राथमिकता दिइरहेको छ । नयाँ नोट छाप्न वार्षिक ९५ करोड रुपैयाँ खर्च गर्ने राष्ट्र बैंकले नगदरहित कारोबारका लागि भने एक रुपैयाँ पनि खर्च गरेको छैन ।

तर राष्ट्र बैंकले प्रभावकारी कदम नचालेका कारण इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड १३ लाख पुगेपनि विद्युतीय भुक्तानीको अवस्था निकै न्युन छ । अहिले देशभित्र हुने कारोबारमा ३ प्रतिशत मात्र विद्युतीय भुक्तानी हुन्छ । विद्युतीय भुक्तानी प्रबद्र्धन गर्न सके त्यो खर्च बचाउन सकिन्छ ।