neapl investment mega bank
  • गृहपृष्ठ
  • विशिष्टिकृत संघ कार्यान्वयनमा नआउँदै ऐन संशोधन गर्दै सहकारी सञ्चालक

विशिष्टिकृत संघ कार्यान्वयनमा नआउँदै ऐन संशोधन गर्दै सहकारी सञ्चालक

Mar 13th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, फागुन ३०

सहकारी सञ्चालकहरु विशिष्टीकृत संघ गठन गर्न २५ सहकारी चाहिने व्यवस्था संशोधन गरी ५ वटामा झार्ने प्रयासमा छन्। २५ वटा सहकारी एकै जिल्लामा पाउन कठिन भएको भन्दै उनिहरुले ऐन नै संसोधन गर्न लागेका हुन् ।

तर उनिहरुको भनाई तर्कसङ्गत भने छैन । अन्तर्राष्ट्रिय मुलुकको अभ्यास हेर्ने हो भने अहिलेकै व्यवस्था पनि कम हो । किनभने भारतमा ५३ वर्ष पहिलेरासायनिक मल उत्पादन गर्ने उद्देश्यले ५७ वटा सहकारीले इफ्को नामक संघ स्थापना भएको थियो । त्यसमा अहिले ३६ हजार सहकारी आबद्ध छन् ।

जसले पनिसहकारी अभियन्ताहरुको भनाई तर्क सङ्गत नभएको पुष्टि हुन्छ । ठूलो उत्पादनका लागि ठूलै मात्रामा सहकारीहरुको संलग्नता जरुरी हुन्छ । निफ्काले अहिले वार्षिक ८१ लाख मेट्रिक टन रासायनिक मल उत्पादन हुन्छ । जुन भारतीय मल बजारमा ४० प्रतिशत हिस्सा हो । त्यो सहकारीले उत्पादन गर्ने मल भारतका साढे ५ करोड किसानले प्रयोग गर्छन् ।

हाल ३३ हजार सहकारी सञ्चालनमा रहेकामा आधाजसो त बैंककै जस्तो बचत र ऋणको कारोबारमा संलग्न छन् ।

धेरैजसो त सहकारीभन्दा पनि महँगो ब्याज र सेवा शुल्क लिएर नाफा कमाउने संस्थामा परिणत भएका छन् । औद्योगिक क्षेत्रमा योगदान पु¥याउने गरी उत्पादनमूलक काम सहकारीहरुको प्राथमिकतामै देखिँदैन ।

सहकारी सञ्चालकहरुले उत्पादनमुलक कार्यभन्दा राजनीतिमै जोड दिएको देखिन्छ । विभिन्न संघ तथा महासंघ बनाउने सहकारी अभियन्ताहरुले उत्पादनमुलक कायम गर्नका लागि बिशिष्टिकृत कोष भने स्थापना गर्न सकेका छैनन् ।

सहकारीका संघ अहिले २१ वटा छन् । ती संघ र महासंघलाई सहकारी सञ्चालकले आफूअनुकूल कानुन बनाउनदेखि राजनीतिक प्रभाव बढाउन प्रयोग गर्दै आएका छन् ।कतिपयले त राज्यसत्तामा पुग्ने माध्यम बनाएका छन् ।

छरिएर रहेका सहकारीलाई एकै संघमा आबद्ध गरी उत्पादनमूलक काममा लगाउन सहकारी ऐनमा विशिष्टीकृत संघको व्यवस्था गरिएको छ । तर अहिलेसम्म विशिष्टीकृत एउटै संघ गठन भएको छैन । सहकारी सञ्चालक भने उत्पादनमूलक काम गर्नभन्दा केवल राजनीतिक प्रभाव बढाउन विषयगत संघ बनाउनेतिर लालायित देखिन्छन् ।तर नेपालमा अहिलेसम्मसहकारीले मिलेर अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने गरी उत्पादनमूलक काम गर्न सकेका छैनन् ।

सहकारी ऐन, २०७३ ले विशिष्टीकृत संघ स्थापना गरी यस्ता उत्पादनमूलक उद्योग विस्तार गर्ने बाटो खोलिदिएपनि सहकारी सञ्चालकले त्यसतर्फचासो दिएका छैनन् । कम्तीमा २५ वटा सहकारी मिलेरसंघ गठन गरी जलविद्युत आयोजना, फलफूल प्रशोधन, रासायनिक मल र चिनी उद्योगजस्ता व्यवसाय सञ्चालन गर्न सकिन्छ । तर अहिलेसम्म यस्तो संघ गठनमा सहकारीले रुचि नै देखाएका छैनन् ।