काठमाडौ फागुन २९
नेपाल उद्योग बाँणिज्य महासंघले कोरोना जोखिम न्यूनिकरणका लागि सक्रियता देखाउने भएको छ । कोरोना भाइरसका कारण विश्वनै त्रासत स्थितिमा रहेको अहिलेको अवस्थालाई समिक्षा गर्दै नेपाल सरकार तथा अन्य विकास साझेदार समेतको सहकार्यमा निजी क्षेत्रका तर्फबाट गर्न सकिने थप तयारीका सम्बन्धमा महासंघले पहल कदमी लिने निर्णय गरेको महासंघले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले समेत आपतकालिन स्थितिको घोषणा गरिसकेको परिस्थितिमा नेपाल समेत अत्यन्त जोखिमपूर्ण राष्ट्रको रूपमा रहेकाले सम्भावित जोखिमबाट जोगिन यस रोगका वारेमा पर्याप्त जानकारी सहित पूर्व सावधानी अपनाउन जरूरी रहेकोले महासंघले यूनएनडीपी/यूनिसेफ समेतको सहकार्यमा आफ्नो संजाल मार्फत जनचेतनामुलक कार्यक्रम स्थानीयस्तरसम्म लैजाने निर्णय गरेको जनाएको छ । साथै महासंघले जोखिम न्यूनिकरणका लागि कार्य गर्न महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरी सोही कार्यदल मार्फत आवश्यक उपकरण, औषधि, सरसफाईका सामग्रीहरूको वर्तमान वस्तुतथ्य संकलन गर्ने, मास्क, स्यानीटाइजर, औषधि लगायतका सरसफाई सामग्री संकलन गर्ने र आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्ने निर्णय गरेको छ ।
महासंघले आफ्ना सबै प्रदेश च्याप्टर मार्फत स्थितिको आंकलन गरी जनचेतनामुलक कार्यक्रम संचालन गर्न र आवश्यक सामग्रीहरूको वितरण गर्न प्रदेश च्याप्टरहरूलाई आग्रह समेत गर्ने भएको छ ।महासंघले सबै सदस्य संघ÷संस्था, उद्योग प्रतिष्ठानहरूलाई आ–आफ्ना कार्य क्षेत्र र कार्य स्थलमा कोरोना भाइरसका बारे पर्याप्त जनचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै उद्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिक कर्मचारीहरूलाई आवश्यक मास्क, स्यानिटाइजर लगायतका सरसफाईका सामग्रीहरू उपलव्ध गराई प्रयोग गर्न आग्रह समेत गरेको छ ।