काठमाडौँ, २९ फागुन (रासस)
नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । संविधानसभा सदस्य एवं काँग्रेसका अग्रज नेता शेर्माको बुधबार उपचारको क्रममा ललितपुरस्थित निदान अस्पतालमा निधन भएको थियो ।
विसं २००० मा पाँचथरको मिक्लाजुङ–२ सराङडाँडामा जन्मनुभएका शेर्मा दुई कार्यकाल काँग्रेसको केन्द्रीय सदस्य र दुई कार्यकाल काँग्रेस पाँचथरको जिल्ला सभापति हुनुभएको थियो । विसं २०४८ मा काँग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका नेता शेर्माले २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएपछि स्थानीय विकासमन्त्रीको जिम्मेवारीसमेत बहन गर्नुभएको थियो ।
काँग्रेस केन्द्रीय कार्यालयको सचिवमा दुलाल
नेपाली काँग्रेसले केन्द्रीय कार्यालयको सचिवमा कृष्णप्रसाद दुलाल (मोरङ) लाई समायोजन गरेको छ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठिक संरचना र केन्द्रीय कार्यालयसमेतको समायोजनका लागि भएको सहमतिअनुसार दुलाललाई आज सचिव पदमा समायोजन गरिएको पार्टी कार्यालयले जनाएको छ ।