डिट्रोइट, २८ फागुन (राससरएएफपी)
अमेरिकाको मिसिगन सहित छ वटा राज्यमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार छान्न मतदान शुरु भएको छ । यस चुनावमा पार्टीका दुई वरिष्ट सदस्यहरु जो बाइडेन र बर्नी स्यान्डर्स चुनावी मैदानमा हुनुहुन्छ ।
डेमोक्रेटिक पार्टीका तर्फबाट यी दुई नेतामध्ये एकले रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुनुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी नोभेम्बरमा चुनावमा भिड्नु हुनेछ ।
चुनाव भइरहेका राज्यहरुमा मिसिगन सहित इडाहो, मिसिसिपी, मिजौरी, नर्थ डकोटा र वासिङ्टन स्टेट रहेका छन् ।
यी छवटा राज्यमध्ये सबैभन्दा बढी पार्टी प्रतिनिधि चुनिने मिसिगनतर्फ दुबै उम्मेदवारले विशेष ध्यान दिएका छन् । अघिल्ला चुनावमा मध्यम प्रदर्शन गर्नु भएका स्यान्डर्सले मिसिगनको चुनाव जितेमा मात्र उहाँलाई भावी यात्रा केही सहज हुनेछ ।
राष्ट्रपतिको चुनावी दौडमा उभिएका सबैजसो उम्मेदवारले बाइडेनलाई समर्थन गरिसकेकाले सिनेटर स्यान्डर्सलाई चुनाव जित्न निकै हम्मे पर्ने आँकलन गरिएको छ । अघिल्लो मङ्गलबार १४ वटा राज्यमा भएको चुनावमा बाइडेनले १० वटा राज्यमा तथा स्यान्डर्सले ४ वटा राज्यमा विजय हात पार्नु भएको थियो ।
यसबाट बाइडेनको पक्ष निकै बलियो भएको थियो ।
मतदानका लागि मतदान स्थलमा पुगेका अधिकांश मतदाताले राष्ट्रपति ट्रम्पलाई परास्त गर्न सक्ने उम्मेदवार छान्नु नै अहिलेको सर्वाधिक महत्वपूर्ण पक्ष रहेको बताएका थिए ।