neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा सडक विस्तारको नयाँ योजना नबनाइने

काठमाडौं उपत्यकामा सडक विस्तारको नयाँ योजना नबनाइने

Mar 10th, 2020

काठमाडौँ, २७ फागुन (रासस)

काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडक ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सम्पन्न नभएपछि सरकारले नयाँ सडकमा विस्तारको योजना बनाएको छैन ।

काठमाडौँ उपत्यकामा सडक विस्तारका लागि चौडाइ उपलब्ध नहुने र सडकमा रहेका संरचना हटाउन पनि कठीन हुने भएकाले तत्काल विस्तारका लागि योजना बन्न नसकेको हो । अहिलेकै अवस्थामा सडक विस्तारको योजना बनाउन नसकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले काठमाडौँ उपत्यकामा १० स्थानका सडक विस्तार शुरु गरेको थियो । तीमध्ये अधिकांश स्थानमा सम्पन्न भइसकेको छैन ।

शुरु भएका योजना सम्पन्न नभएकै कारण नयाँ योजना बन्न नसकेको आयोजनाका इञ्जिनीयर लक्ष्मण देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणका क्रममा रहेका योजना सम्पन्न गर्नुनै अहिलेको लक्ष्य हो ।” काठमाडौँ उपत्यकामा धेरै स्थानमा अहिले पनि साँघुरा सडकका कारण स्थानीयवासी घण्टौँ सवारी जाममा पर्ने गरेका छन् । हाल निर्माणाधीन सडक नै अलपत्र भएपछि सरकारले सडक विस्तारको नयाँ योजना बनाउन नसकेको हो ।

सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनमा पनि निर्माणस्थल खाली भएपछि मात्रै ठेक्का सम्झौता गर्नुपर्ने व्यवस्था हुँदा नयाँ सडक निर्माणको योजना तत्काल नबन्ने देखिएको छ । चार वर्ष पहिले शुरु भएका विभिन्न सडक पनि अहिले आयोजनाले चौडाइ नबढाइ कालोपत्र गरिरहेको छ । विस्तारका क्रममा रहेका सडक लामो समयसम्म निर्माण नहुँदा धुलो र हिलोका कारण स्थानीयवासी हैरान भएपछि उलब्ध चौडाइमै निर्माण भइरहेको हो ।