neapl investment mega bank
  • गृहपृष्ठ
  • जोरपाटी चोकमा सुविधासम्पन्न शौचालय निर्माण गरिने

जोरपाटी चोकमा सुविधासम्पन्न शौचालय निर्माण गरिने

Mar 10th, 2020

काठमाडौँ, २७ फागुन (रासस)

शहरीकरण तीव्र भएपछि गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गरिने भएको छ ।

राजधानी काठमाडौँको पूर्वी क्षेत्रको महत्वपूर्णस्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् र नगरपालिकाबीच सम्झौता भएको हो । सङ्घका सचिव गौरीराज जोशी र नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । काठमाडौँको काठ क्षेत्रमा बस्ती विस्तार भएसँगै पूर्वी भेगका अधिकांश स्थान भरिएका छन् ।

जोरपाटी चोक बूढानीलकण्ठको पूर्वी भाग, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गरी पाँच स्थानीय तह छिर्ने व्यस्त चोक हो । यी क्षेत्रको व्यापारसमेत यही मार्गबाट हुँदै आएको छ । जोरपाटी चोकमा हाल शौचालय नहुँदा यो मार्ग भएर ओहोरदोहोर गर्ने पैदलयात्रु वाग्मती नदी किनारमा खुला शौच गर्छन् । बेलुकीको समयमा खुला स्थानमा शौच गरिँदा सफाइमा चुनौती थपिएको थियो । त्यसका कारण नदी सफाइमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।