neapl investment mega bank
  • गृहपृष्ठ
  • सुदूरपश्चिम प्रदेशमा अझै आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्

सुदूरपश्चिम प्रदेशमा अझै आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्

Mar 10th, 2020

डोटी, २७ फागुन (रासस)

सुदूरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन् ।

अभियानमा पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवकसमेत परिचालन गरिने जनाइएको छ । अभियान अन्तर्गत डोटीमा करिव २४ हजार ५५० बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

अगामी चैत १ गतेदेखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिकामा सञ्चालन गरिने छ । त्यस्तै चैत १६ देखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी, शिखर नगरपालिका , पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप दुई चरणमा लगाउने योजना बनाएका छौँ, हाम्रो अभियानमा सबै स्थानीय तहले साथ र सहयोग गर्न जरुरी छ ।”

कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । ढुक्क साथ आफ्ना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन जिल्ला अस्पताल डोटीका डा ज्योति पाण्डेले आग्रह गर्नुभयो । जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित रहेकोे कार्यालयको तथ्याङ्कमा रहेको छ । स्वास्थ्य कार्यालयका अध्यक्ष यज्ञराज जोशीले भन्नुभयो, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले यहाँका स्थानीय तहसँगको सहकार्यमा खोप अभियान सञ्चालन हुँदैछ । यसमा सहयोग गर्न म सबैमा आह्वान गर्छु । ”