neapl investment mega bank

सुन निक्षेपको व्यवस्था आयो तर फुस्सा !

Mar 9th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, फागुन २६

नेपाल राष्ट्र बैंकले सुनलाई पनि निक्षेपका रुपमा राख्न मिल्ने व्यवस्था गरेको छ । तर, ढिका सुन मात्रै राख्न पाइने र न्युनतम २५ ग्रामभन्दा तलको सुन निक्षेपको रुपमा बैंकमा राखेर ब्याज लिन नपाइने भएका कारण राष्ट्र बैंकले सुन सम्वन्धी हालै मात्रै बनाएको कार्यविधीले हात्ति आयो हात्ति आयो फुस्सा भनेझै भएको छ ।

सरकारले बजेट मार्फत सुन तथा चादी जस्ता बहुमूल्य धातुलाई बैंकमा निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरिनेछ भनेर घोषणा गर्याे । त्यसलाई कार्यान्वयनमा लाने राष्ट्र बैंकले भने सुनलाई मात्रै निक्षेपको रुपमा राख्ने मौद्रिक नीतिमा व्यवस्था गर्याे ।

सरकारले घोषणा गरेको १० महिनापछि राष्ट्र बैंकले सुन पनि निक्षेपको रुपमा राख्ने व्यवस्था त गर्याे तर अव्यवहारिक रुपमा । किनकी राष्ट्र बैंकले बनाएको कार्यविधी अनुसार २५ ग्रामभन्दा कम परिमाण भएको सुनलाई निक्षेपको रुपमा राख्न पाइने छैन ।

यो कार्यविधीले सुनका गरगहना र चाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रुपमा राख्ने व्यवस्था गरेको छैन । आम मानिसहरुसँग हुने भनेकै गरगहना हो । जसलाई अब बैंकमा निक्षेपका रुपमा राख्न परे त्यसलाई गालेर ढिका बनाउनु पर्छ ।

गहना बनाएको सुनको गुणस्तर मापन गर्न कठिन हुने भएकाले ढिक्का मात्र निक्षेपका रुपमा राख्न दिने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंक बताउँछ ।

बैंकहरुलाई भने लगानीयोग्य रकम जुटाउन लागि यसबाट केहि सहज हुने देखिएको छ । किनभने बैंकहरुले बैंकमा राख्नुपर्ने अनिबार्य नगद मौज्दात र एसएलआरमा सुन पनि गणना गर्न पाइनेछ ।

घरमा ढिका सुन नै सञ्चय गरेर राखेकाहरुलाई त यो केहि हदसम्म राम्रै देखिन्छ । किनकीनिक्षेपका रूपमा बैंकमा सुन राख्दा ग्राहकले ब्याज प्राप्त गर्छन्् । सुनको ब्याज सुन वा नगद दुबैमा लिन सकिनेछ । र, यसको ब्याजदर भने बैंक अनुसार फरक फरक हुनेछ ।