neapl investment mega bank
  • गृहपृष्ठ
  • जुलिया मोर्लेले पूर्वमिस नेपाल शृङ्खलाले बनाएको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने

जुलिया मोर्लेले पूर्वमिस नेपाल शृङ्खलाले बनाएको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने

Mar 7th, 2020

हेटौँडा, २४ फागुन (रासस)

विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्लेले मकवानपुरको विकट चेपाङबस्तीमा पूर्वमिस नेपाल शृङ्खला खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

शुक्रबार सोही स्वास्थ्यचौकीमा पुगेर अध्यक्ष मोर्लेले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ‘ब्युटी विथ पर्पज’ जित्न सफल भएको संरचना हेर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो । यस्तो विकट स्थानमा समेत राम्रो संरचना बनेको र यस्तो ठाउँमा पुग्न र देख्न पाउँदा खुशी लागेको उहाँको भनाइ थियो ।

पूर्वमिस नेपाल खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकी तथा चेपाङबस्ती हेर्न विश्व सुन्दरीलगायतको टोली कैलाश गाउँपालिकाको भार्तास्थित चेपाङ गाउँमा आएको हो । तामलाङस्थित ङिको स्वास्थ्यचौकीको अवलोकनका लागि मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, पूर्र्वमिस नेपाल खतिवडा, मिस नेपाल अनुष्का श्रेष्ठलगायतको टोली पुगेको थियो । मिस नेपाल २०१८ कि विजेता शृङ्खला खतिवडाले तामलाङमा ङिको स्वास्थ्यचौकी निर्माण गर्नुभएको थियो ।

मिस वल्र्ड प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुभएकी खतिवडाले ब्युटी अफ पर्पज विधा जित्न सफल भएको स्वास्थ्यचौकी मिसवल्र्डका आयोजकलाई अवलोकन गराउनुभएको हो । कार्यक्रममा पूर्वमिस नेपाल खतिवडाले मेहनत गरेर निर्माण गरिएको स्वास्थ्यचौकीको कामको मूल्याङ्कन भएको बताउनुभयो । एउटा ‘टाइटल’ जित्न सहयोग गरेको स्वास्थ्यचौकी निर्माणपश्चात् अवलोकनमा आएको टोलीलाई उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो ।