neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वसुन्दरी जमैकाकी टोनी एनसिन हमज हेलम्बुमा

विश्वसुन्दरी जमैकाकी टोनी एनसिन हमज हेलम्बुमा

Mar 6th, 2020

चौतारा, २३ फागुन (रासस)

सन् २०१९ की विश्वसुन्दरी जमैकाकी टोनी एनसिन हमज आज सिन्धुपाल्चोकको हेलम्बुमा आइपुग्नुभएको छ । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र शृङ्खला खतिवडासँग आज बिहान आउनुभएकी उहाँ हेलम्बुमा निर्माण भइरहेको घोप्टे ध्याङस्थित हिमालय पदमार्ग ‘ग्रेट ट्रेल’को अवलोकन गर्नुभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमग्याल्जेन शेर्पाले बताउनुभयो ।

त्यसैगरी उहाँले वडा नं ७ सोलसिङ्ग गाउँको पनि अवलोकन गर्नुभयो । त्यहाँ नेपाल सुन्दरी अनुष्का श्रेष्ठद्वारा स्वावलम्बन कार्यक्रमअन्तर्गत १४० घरपरिवारका लागि शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वसुन्दरी टोनी बिहीबार नेपाल आउनुभएको थियो ।

पर्यटकीय दृष्टिकोणले चर्चित हेलम्बुमा चीनको ग्रेटवालको झल्को दिने हिमालयन हेलम्बु ग्रेट ट्रेलको गत वर्षदेखि निर्माण शुरु भई हालसम्म ११० मिटर सम्पन्न भएको छ । कूल रु तीन अर्ब बजेटमा ६० किलोमिटर निर्माण गरिने बहुवर्षीय योजनाअन्तर्गत चालू आवमा एक किलोमिटर निर्माण गर्ने लक्ष्य रहेको पालिकाले जनाएको छ ।

कडा चट्टान ढुङ्गा काटेर सिमेन्टको जोडाइमा दुई मिटर सिमेन्टको सिँढी बनाइएको छ । पदमार्गको दुवैपट्टि ६० सेन्टिमिटरको चौडाइको पर्खाल निर्माण गरिएको छ । एक मिटर सिँढीको काम पूरा गर्न रु ३० हजार लागत लाग्नुका साथै समय पनि बढी लाग्ने गरेको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताउनुभयो ।