neapl investment mega bank
  • गृहपृष्ठ
  • सर्जिकल मास्कको कृत्रिम अभाव भएपछि प्रशासनको अनुगमन

सर्जिकल मास्कको कृत्रिम अभाव भएपछि प्रशासनको अनुगमन

Mar 6th, 2020

– पेमा लामा बनेपा, २३ फागुन (रासस)

कोरोना भाइरस ( कोभिड–१९) को उच्च जोखिममा नेपाल पनि परेको भन्दै सतर्कता अपनाउन गरिएको आग्रहसँगै औषधि पसल तथा मेडिकल क्लिनिकमा सर्वसाधारणले मास्क र स्यानिटाइजरसमेत किन्न नपाएको गुनासो बढेसँगै जिल्ला प्रशासनले बनेपाको बजारमा अनुगमन शुरु गरेको छ ।

औषधि पसल तथा मेडिकल क्लिनिकमा जाँदा मास्क र स्यानिटाइजर नभएको र भए पनि बढी मूल्य लिएको जनगुनासो बढेपछि आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंको नेतृत्वमा औषधि पसल तथा मेडिकल क्लिनिकमा अनुगमन गरिएको हो । हुमागाईंको नेतृत्वमा स्वास्थ्य कार्यालयका चिकित्सक, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिको उपस्थितिमा अनुगमन गरिएको हो ।

सो क्रममा बनेपा हेल्थ केयरका सञ्चालक जितेन्द्र थापाले हेल्थ केयरमा पनि मास्कको अभाव भएको बताउनुभयो । “हामीसँग पनि कर्मचारीलाई पुग्नेबाहेकको मास्क छैन, माग गरे पनि आपूर्तिकर्ताले उपलब्ध गराउन सकेका छैनन्”, थापाले भन्नुभयो, “भएसम्मको त बिक्री वितरण गरिरहेका छौँ ।” उहाँले अनुगमन समितिलाई अभाव भएको सामग्री उपलब्ध गराउने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

बनेपा नगरपालिका–७ चारदोबाटोस्थित कृष्णप्रसाद अस्पतालका एक कर्मचारीले अस्पतालमा समेत मास्क नभएको बताउनुभयो । “हामीसँग पनि कर्मचारीलाई प्रयोग गर्ने मास्क छैन, बजारमा खोज्ने क्रममा हिजो मात्रै रु ३० तिरेर दुईवटा किनेर ल्यायौँ”, ती कर्मचारीले भन्नुभयो ।

उत्पादकबाट बजारमा सहजै बिक्री वितरण भइरहेको भए पनि अहिले जिल्लाका मुख्य बजारमा मास्क किन्न नपाउने र पाए पनि महङ्गो तिर्नुपर्ने बाध्यता बनाएको सर्वसाधारणको गुनासो छ । बेथानचोक गाउँपालिका–२ का शिव तिमल्सिनाले बनेपा बजारसम्म आउँदा पनि मास्क किन्न नपाएको गुनासो गर्नुभयो । “अहिले बजारमा मास्क नै किन्न पाइँदैन, भएको ठाउँमा पनि मूल्य बढी लिने गरिन्छ”, उहाँले भन्नुभयो । आफ्नो नजिकको चिन्ने मान्छेलाई बाहेक पसलमा मास्क नै नदिएको तिमल्सिनाले बताउनुभयो ।

बनेपाका रिकेश कायस्थले बजारमा मास्क नै नपाएकाले उत्पादन गर्ने उद्योग नै खोजी गरेर किन्न जानुपर्ने अवस्था आएको बताउनुभयो । “बजारमा मास्क नै पाइँदैन, बल्लबल्ल पाए पनि धेरै पैसा तिर्नुपर्छ”, कायस्थले भन्नुभयो, “मास्क खोज्ने क्रममा बल्लबल्ल चिनेका मान्छेको पसलमा पुगेर रु २५ तिरेर किनेँ, साथीभाइको नाताले मात्रै रु २५ मा दिएको हुँ”, पसलेको भनाइ उद्धृत गर्दै कायस्थले भन्नुभयो, “हामीले त मास्क एउटा पाउनलाई यति कष्ट र महङ्गो तिरेर किन्नुप¥यो भने सर्वसाधारणले कसरी प्राप्त गर्ने रु”

तर मास्क उत्पादक कम्पनी क्लिनसिटी प्रालिका सञ्चालक सुकदेव जोशीले भने उत्पादन गरेको मास्क सहजै ढङ्गले बिक्री वितरण गरिरहेको बताउनुभयो । नगरपालिका–१३ साँगामा क्लिनसिटी प्रालि सञ्चालन गर्दै आउनुभएका सञ्चालक जोशीले भन्नुभयो, “हामीले यहाँ उत्पादन गरेको मास्क प्रतिगोटा रु पाँचमा बिक्री गरेका छौँ ।” त्यसलाई बजारमा व्यवसायीले रु १० सम्म लिने गरेको पाइएको उहाँले बताउनुभयो ।

उत्पादनभन्दा बढी बजारमा माग भएपछि अभाव हुनु स्वाभाविक भए पनि बढी मूल्यमा बेच्ने र भए पनि व्यवसायीले नदिने गरेको गुनासो आफूकहाँ पनि आएको उहाँले बताउनुभयो । उद्योगबाट भने उत्पादन भएको मास्क सहजैरूपमा बजारका व्यवसायी, अस्पताल, औषधि पसल र सङ्घ÷संस्थालाई बिक्री वितरण गरिरहेको उहाँको भनाइ छ तर कोरोना भाइरसका कारण चीनबाट आउने सामान रोकिएपछि कच्चा पदार्थको अभाव भएकाले भनेजति उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो । “सामान सबै चीनबाट आउने हो, तर अहिले सबै सामान नै रोकिएका कारण धेरै समस्या छ”, जोशीले भन्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले भने बनेपा, धुलिखेल र पनौतीका औषधि पसल तथा मेडिकल क्लिनिकमा अनुगमनका क्रममा सर्जिकल मास्क र स्यानिटाइजरलगायतका सरसफाइमा प्रयोग हुने वस्तुको अभाव रहेको पाइएको बताउनुभयो । त्यसका लागि आवश्यक आपूर्ति गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्बन्धित निकायसँग आवश्यक सरसल्लाह भइरहेको उहाँको भनाइ थियो ।