आधारभूमी संवाददाता
काठमाडौं, फागुन २३
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर विश्वव्यापी देखिन थालेपछि नेपालमा पनि यसको त्रास बढ्न थालेको छ । नेपालमा हालसम्म यो भाइरस देखिएको छैन । तर यतिवेला आम नेपालीहरुको कोरोना भाइरसले त्रसित छन् ।
विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भनेका कारण आम जनता चिन्तीत देखिन थालेका छन् ।
संसदको चासो
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरेका छन् ।
छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको सङ्क्रमण देखिएको छैन । चीनबाट आएका एक व्यक्तिमा देखिएको सङ्क्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ ।
बिहीबार मात्रै ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ ।
विश्वका ८४ देशमा ‘कोभिड–१९’ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ मा रोग देखिएकामा तीन हजार २८५ को मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ निको भएर घर फर्किसकेका छन् ।
बजारमा कालोबजारी
कोरोनाको त्रास फैलिएसंगै अहिले बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव भएको छ । कोरोनाको असर फैलिन नदिन सावधानी अपनाउन चिकित्सकहरुले माक्स तथा सेनिटाइजरको प्रयोग गर्न सुझाएपछि बजारमा ति सामाग्रीको अभाव भएको हो ।
कालोबजारी गर्नेविरुद्ध एक्सनः
मास्क महँगोमा बिक्री तथा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरे ।
सरकारले उजुरीको आधारमा अनुगमन गर्ने र गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने तयारी गरिरहेको छ । सरकारले मङ्गलबारदेखि बजारमा अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न थालेको छ । मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।
विभागले क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गराएको छ । क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई समेत १० हजार त्रिपुरेश्वरमा रहेका खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई ५९५ हजार जरिवाना गराइएको छ ।
त्यस्तै बजारमा मास्क अभाव हुने सम्भावना रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घसँगको समन्वयमा तत्कालै उत्पादन गर्ने विषयमा सरकार गम्भीर रहेको उपप्रधानमन्त्री पोखरेलले वताए । उनले सस्तोमा मास्क उत्पादन गर्न छलफल भइरहेको छ, अनुदान दिनुपर्ने विषयमा पनि राज्य गम्भीर रहेको जानकारी दिए ।
सरकारको तयारी यस्तो
सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ । उपप्रधानमन्त्री पोखरेलले विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिकरुपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय गरेको जानकारी दिए ।
सिंहदरबारमा बिहीबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको दोस्रो बैठकले छिमेकी मुलुकमा समेत फैलिएको कोभिड–१९ नेपालमा भित्रिनसक्ने जोखिम रहेकाले सबै संयन्त्र परिचालन गरेर सावधानी अपनाइने निर्णय गरेको छ । बाहिरबाट आएकाहरुलाई व्यवस्थित र ठिक ढङ्गले जाँच गर्ने, सङ्क्रमण प्रभावित व्यक्ति भरसक आउन नदिने र जनसचेतना कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइने पोखरेलले बताए ।
कोरोनासँग सम्बन्धित काममा बढी ध्यान दिनसमेत बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले यसअघि नै धेरै संख्यामा उपस्थित भएर गरिने कार्यक्रम नगर्न भनिसकेको छ । विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ । भारतले केही औषधि र कच्चापदार्थ निर्यातमा प्रतिबन्ध लगाएको भन्ने विषयमा पत्रकारले सोधेको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई अत्यावश्यक औषधि उपलब्ध गराउन भारत सहमत रहेको स्पष्ट पारे ।
बजारको अवस्था मूल्याङ्कन गरी तत्काल गर्नुपर्ने विषयमा सरकारले यसअघि नै मुख्य सचिवको नेतृत्वमा एक्सन कमिटी गठन गरिसकेको छ । उच्चस्तरीय समन्वय समितिलाई नीतिगत निर्णय गर्ने अधिकारसमेत छ । समितिले निर्णय गरेर कार्यान्वयन गर्न एक्सन कमिटीलाई निर्देशन दिनसक्छ । चीनबाट सङ्क्रमण फैलिएको कोरोना भाइरसबाट विश्वका कुनै पनि मुलुक सुरक्षित नभएको विश्व स्वास्थ्य सङ्गठनले बताइसकेको छ । सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेको छ ।
विकासोन्मुख र उच्च जोखिममा रहेका मुलुकलाई विश्व बैंकले सहयोग गर्ने घोषणा गरिसकेको छ । त्यस्तै रक्षा मन्त्रालयले विमान कम्पनीलाई डिक्लेरेशन फाराम भर्न लगाउने, सीमा आवागमन घटाउने, थप स्वास्थ्य टोली परिचालन गर्ने तथा प्रदेश र स्थानीय तहलाई आपूर्ति व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै निकासी नियन्त्रण गर्ने, लागत सहभागितामा मास्क उत्पादन गर्ने, क्रस बोर्डर बैठक बस्ने, सीमा नाकामा क्वारेन्टाइन भवन व्यवस्थापन गर्ने, सङ्क्रमित मुलुकमा स्वास्थ्य चेतना बढाउने, क्वारेन्टाइन भवन कायम राख्नेलगायत निर्णय गरेको छ ।