neapl investment mega bank
  • गृहपृष्ठ
  • तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा राति दाहसंस्कार गर्न नपाइने

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा राति दाहसंस्कार गर्न नपाइने

Mar 6th, 2020

दमौली, २३ फागुन (रासस)

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो ।

समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा दाहसंस्कार गर्न देशभरबाट मृत शरीर ल्याउने गरिन्छ ।

उक्त सङ्गममा दैनिक १० भन्दा बढीको दाहसंस्कार गरिन्छ । त्यसमध्ये मासिक कीरब पाँच जनाको रातिमा दाहसंस्कार हुन्छ । काठमाण्डौँको पशुपति आर्यघाटपछि सबैभन्दा धेरै दाहसंस्कार गर्ने घाटका रुपमा देवघाटलाई लिइन्छ ।

केही महिनाअघि देवघाटमा रातिमा दाहसंस्कार गर्न ल्याइएका एक बालक जीवितै भेटिएका थिए । त्यस्तै शङ्कास्पद मृत्यु या हत्याको घटना रातिमा नै दाहसंस्कार गर्न ल्याउने सूचना पाएपछि आफूहरुले धेरैपटक प्रहरीलाई खबरसमेत गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

देवघाटमा दाहसंस्कार गर्न ल्याउने मृतकको सबैभन्दा नजिकको आफन्तले मत्युसम्बन्धी फाराम भर्नुपर्ने हुँदा रातिमा कर्मचारीको व्यवस्थापन गर्न पनि समस्या भइरहेको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न कारणले राति १० बजेपछि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाइने निर्णय भएको छ । राति १० बजेपछि घाटमा आइपुग्नेका लागि नदी किनारमा घाट घरको व्यवस्थापन गरिने भएको छ ।

बैठकमा सहभागी तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र चितवनका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराईले कतिपय शङ्कास्पद मृत्यु हतारहतार रातिमा नै दाहसंस्कार गरिहाल्ने र प्रमाण मेटिने भएका कारण रातिमा दाहसंस्कार गर्न रोक लगाउनु उचित हुने बताउनुभयो ।

समितिको बैठकले चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमको समीक्षा गरी आगामी आर्थिक वर्षमा सञ्चालन गरिने प्रस्तावित कार्यक्रमलाई अनुमोदन गरि सम्बन्धित मन्त्रालयमा बजेट माग गर्ने निर्णय गरेको छ । सो ५७ औं बैठकले देवघाटधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धार्मिक परम्परा झल्कने खालको गुरुयोजना निर्माण गर्ने, पर्यटकलाई आकर्षित गर्ने खालको पूर्वाधार निर्माण गर्ने, धार्मिक सम्पदा समेटिने धार्मिक चक्रपथको निर्माण गर्ने तथा देवघाट क्षेत्रमा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । बैठकले कालीगण्डकी डाइभर्सनको योजनाले तटीय क्षेत्र खास गरी प्रसिद्ध तीर्थस्थल देवघाटको भविष्यमा पनि सङ्कट पर्न सक्ने भएकाले उक्त डाइभर्सन गर्न नहुने तर्फ सङ्घीय सरकारको थप ध्यानाकर्षण गराउने भएको छ ।