कीभ, यूक्रेन, २३ फागुन (रासस/एपी)
निवर्तमान प्रधानमन्त्री ओलेक्सीे होनचारूकको उपप्रधानमन्त्री रहेका देनिस स्मिगललाई बिहीबार यूक्रेनको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरिएको छ ।
संसदमा प्रधानमन्त्रीको राजीनामाबारे भएको बहसमा राष्ट्रपति जेलेन्स्कीले ३५–बर्षीय होनचारूकले औद्योगिक उत्पादनमा आएको ह्रासलाई उकास्ने यथोचित कार्यक्रम ल्याउन विफल भएको र कर सङ्कलनको लक्ष्य पूरा गर्न नसकेको आरोप लगाउनुभएको थियो ।
यसपहिले यूक्रेनको संसदमा प्रधानमन्त्रीको राजिनामा स्वीकृत गर्ने वा उहाँलाई नै निरन्तरता दिनेबारे भएको मतदानले उहाँलाई निरन्तरता नदिने पक्षमा निर्णय दिएको छ । छ महिना प्रधानमन्त्रीका रूपमा काम गरेका प्रधानमन्त्री ओलेक्सी होनचारूकको कार्यसम्पादनलाई लिएर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यापक आलोचना गरेपछि उहाँले राजिनामा दिनुभएको थियो ।
संसदमा भएको मतदानमा भाग लिएका २८१ सांसदमध्ये २७७ जनाले प्रधानमन्त्रीलाई हटाउने पक्षमा मतदान गरेका थिए भने ४० ले प्रधानमन्त्रीमा होनचारूकलाई नै निरन्तरता दिने पक्षमा मतदान गरेका थिए ।
“सरकारमा नयाँ दिमाग र विचारले सरकारको नेतृत्व गर्ने आवश्यकता यूक्रेनले गरेको छ, राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो ।
गत महिना उपप्रधानमन्त्री बनेका ४४ वर्षीय स्मिगल यसअघि पश्चिमी इवानो–फ्रान्सेभसक क्षेत्रका प्रमुख क्षेत्रीय प्रशासक हुनुहुन्थ्यो ।
प्रधानमन्त्री निर्वाचित भएपछि स्मिगलले भन्नुभयो, “यूक्रेनमा नागरिकको अपेक्षा धेरै छ र उनीहरूको धैर्य टुटिसकेको छ । आज हामी कुरा वा भाषणभन्दा नतिजा देखिने गरी काम गर्नुपरेको छ । म जनताको अपेक्षालाई सम्वोधन गर्न यथासम्भव लाग्नेछु ।”