neapl investment mega bank
  • गृहपृष्ठ
  • दिगो ऊर्जा तथा हरित विकासमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर

दिगो ऊर्जा तथा हरित विकासमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर

Mar 5th, 2020

काठमाडौँ, २२ फागुन (रासस)

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट (जिजिजिआई)बीच दिगो ऊर्जा तथा हरित वृद्धिमा सहकार्यको लागि आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी र जिजिजिआइका महानिर्देशक फ्र्याङ्क रिजबम्र्यानले हस्ताक्षर गर्नुभएको छ । नेपालमा दिगो ऊर्जा र हरित विकासको लागि दुवै पक्षबीच सहमति भएका क्रियाकलाप कार्यान्वयन गर्ने उद्देश्यले समझदारी गरिएका हो ।

केन्द्रको आवश्यकताका आधारमा जिजिजिआईले प्राविधिक सल्लाह सेवा तथा हरित जलवायु कोषमा पेश गरिने दिगो ऊर्जासम्बन्धी परियोजना विकासको लागि सहयोग गर्नेछ । लगानीयोग्य ऊर्जा परियोजनाको डिजाइन र वित्तीय स्रोतको लागि सहजीकरण, हरित लगानी तथा ऊर्जा परियोजना तर्जुमामा अन्तरराष्ट्रिय विज्ञ तथा असल अभ्यासलाई उपयोग गर्ने कार्यमा जिजिजिआईले सहायता उपलब्ध गराउने छ ।

यसैगरी केन्द्रले हरित जलवायु कोषमा पेश गर्ने प्रस्ताव पुनरावलोकन गर्ने तथा केन्द्रसँग आपसी समझदारीमा प्राविधिक सहयोगका क्षेत्रमा सहभागिता जनाउने कार्यमा जिजिजिआइले सहयोग गर्नेछ ।

दिगो ऊर्जा र हरित विकासलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न केन्द्रले हरित जलवायु कोषमा पेश गरेका कार्यक्रमलाई अघि बढाउन जिजिजिआईको सहयोग लिने विषय पनि समझदारीमा उल्लेख छ । यस्तै हरित जलवायु कोषमा पेश गरिने परियोजना प्रस्ताव तयार गर्न जिजिजिआइसँग संयुक्त रुपमा कार्य गर्ने, जिजिजिआइलाई आवश्यक पर्ने तथ्याङ्क तथा सूचना उपलब्ध गराउने, सरोकारवालासँग परामर्श तथा छलफलका आयोजना गर्ने जस्ता कार्य केन्द्रले गर्नेछ ।

दक्षिण कोरियाको सिउलमा मुख्य कार्यालय रहेको जिजिजिआई सदस्य राष्ट्रहरुबीच भएको सम्झौताबमोजिम स्थापित एक अन्तरराष्ट्रिय अन्तरसरकारी संस्था हो । अतिकम विकसित तथा विकासोन्मुख राष्ट्रमा गरिबी न्यूनीकरण, अवसरहरुको सिर्जना, वातावरणीय लक्ष्यसहितको सामाजिक विकास जस्ता आर्थिक उद्देश्यलाई एकीकृत रुपमा अघि बढाउँदै दिगो विकास प्रवद्र्धन तथा हरित आर्थिक वृद्धि ढाँचाको प्रवद्र्धन गर्नु जिजिजिआईको प्रमुख उद्देश्य रहेको छ ।

समझदारीबमोजिमका कार्यलाई समन्वय गर्न केन्द्रका तर्फबाट सहायक निर्देशक राजु लौडारी र जिजिजिआईको तर्फबाट जिजिजिआईका नेपाल प्रतिनिधि रोअन फ्रसेरलाई तोकिएको छ ।