neapl investment mega bank
  • गृहपृष्ठ
  • बढ्यो घर कर्जाको सिमा, विदेशी लगानी भित्राउन नीतिगत संसोधन

बढ्यो घर कर्जाको सिमा, विदेशी लगानी भित्राउन नीतिगत संसोधन

Mar 4th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, फागुन २१

राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ । यसअघि घर कर्जावापत ऋणीले आम्दानीको ५० प्रतिशतसम्म किस्ता हुने गरी ऋण पाउने व्यवस्था गरेकामा अब ६० प्रतिशतसम्म पाउने व्यवस्था गरिएको छ।

साथै महानगरपालिका र नगरपालिका क्षेत्रमा हाउजिङ र अपार्टमेन्ट बनाउने व्यवसायीले पाउने कर्जाको सीमा पनि १० प्रतिशत बढाइएको छ । र, नियमित दुई वर्षसम्म घाटामा गएका कम्पनीको ऋणलाई सूक्ष्म निगरानी गर्ने र त्यस्तो ऋणको ५ प्रतिशत कम प्रोभिजनिङ गरेर राख्नुपर्ने व्यवस्था पनि खुकुलो बनाइएको छ।

साथै उद्योगी तथा व्यवसायीको माग र कर्जा विस्तार नहुँदा आर्थिक वृद्धिको लक्ष्यसमेत पूरा नहुने भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् केही खुकुलो व्यवस्था गरेको छ ।

कर्जा विस्तारमा अब २ करोडसम्म कर्जा लिनका लागि कर चुक्ताप्रमाणपत्र पेश गर्नुनपर्ने भएको छ । कर्जा विस्तार हुन नसकेपछि राष्ट्र बैंकले यसलाई कहि खुकुलो पारेको हो ।

कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने भएका कारण साना तथा घरेलु उद्योगले लगानी विस्तार नगरि बसेका थिए । जसका कारण पनि पछिल्लो समय बैंकमा कर्जाको माग घटेको छ।

राष्ट्र बैंकले कर्जा प्रवाह र विदेशी लगानी भित्र्याउन सहज हुने गरी मौद्रिक नीतिका विभिन्न व्यवस्थामा संसोधन गरेको छ । मौद्रिक नीतिमा गरिएको खुकुलो व्यवस्थाले कर्जाको माग बढ्ने हुन्छ । जसका लािग सरकारले स्रोतको भने अहिले देखिनै व्यवस्था गर्नु जरुरी छ ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा यस वर्ष विस्तार भएको छैन । गत वर्ष १२ दशमलव ७ प्रतिशतले कर्जा विस्तार भएकामा यसपालि वृद्धिदर ८ दशमलव ६ प्रतिशतमा सीमित छ । साढे ८ प्रतिशतआर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि कर्जा प्रवाहको वृद्धिदर गत वर्षभन्दा बढ्नुपथ्र्यो ।