neapl investment mega bank
  • गृहपृष्ठ
  • फेवातालको जग्गा अधिकतम जोगिने गरी काम गर्न आग्रह

फेवातालको जग्गा अधिकतम जोगिने गरी काम गर्न आग्रह

Mar 1st, 2020

पोखरा, १८ फागुन (रासस)

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको अधिकतम क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गर्नुभएको छ । उच्च अदालत बार एसोसिएसन पोखराद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले तालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले नेपाल सरकारका मुख्यसचिवलाई सल्लाह दिएको बताउनुभयो ।

ताल बचाउन केही समय पहिला सर्वोच्चले गरेको फैसला कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले तालको सौन्दर्य फैसला गरेर मात्र नहुने र यसको संरक्षण सबै नागरिक तथा सरोकारवाला निकाय सक्रिय हुनुपर्ने सुझाव दिनुभयो ।

नापीका महानिर्देशकलाई खटाएर तालको वास्तविक नापी भइसकेको जानकारी दिँदै उहाँले फरक–फरक नापीमा समान क्षेत्रफल नआएको बताउनुभयो । भारतले गरेको हवाई सर्वेक्षणमा देखिएको ताल, यहाँ देखिएको नापीको नक्साको ताल र हालको नाप समान नभए पनि अधिकतम क्षेत्रफल कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कुनै पनि न्यायाधीशले बद्नियत, ढिलासुस्ती र अनियमितता गरेको पाइए छुट नदिइने स्पष्ट पार्दै प्रधानन्यायाधीश राणाले आफ्नो ज्ञान र विवेकलाई आत्मसात् गरी स्वाभिमानी र आत्मज्ञानी भई संविधान प्रदत्त कानुनी अधिकार प्रयोग गरी न्यायसम्पादन गर्न आग्रह गर्नुभयो ।

न्यायप्रणाली सुधार गरेर लैजाने आफ्नो लक्ष्य भएकाले अदालतभित्रका कर्मचारी र न्यायाधीशका बारेमा गलत कुरा भएमा कानून व्यवसायीले पनि निर्धक्क भई बाहिर ल्याउन उहाँले आग्रह गर्नुभयो ।

अडियो भिडियोमार्फत बहस पैरवी गर्ने प्रविधिको विकास गर्ने बताउँदै उहाँले प्रविधिले फड्को मारिसकेको वर्तमान अवस्थामा देशको न्यायप्रणालीलाई छिटोछरितो बनाउन प्रविधिको विकल्प नभएको उल्ल्ेख गर्नुभयो ।