neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

Mar 1st, 2020

वासिङ्टन, १८ फागुन (राससरएएनआई)

संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिनुभयो । यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ ।

अमेरिकी स्वास्थ्य विभागले कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्धहरु घोषणा गरेको हो ।

उपराष्ट्रपति पेन्सले इरानी नागरिकमाथि यात्रा प्रतिबन्ध पहिल्यैदेखि रहे पनि विगत १४ दिनयता इरान भ्रमण गरेका कुनै पनि विदेशीलाई अमेरिका प्रवेश गर्न नदिइने बताउनुभयो ।

उहाँले इटाली र दक्षिण कोरियाका कोरोना प्रभावित इलाकाहरुमा भ्रमण नगर्न सल्लाह दिइएको पनि बताउनुभयो ।

त्यस अवसरमा राष्ट्रपति ट्रम्पले संयुक्तराज्य अमेरिकामा २२ जनामा कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिँदै पछिल्लो परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताउनुभयो । उहाँले कोरोनाभाइरसको खोप निर्माणका सन्दर्भमा कुराकानी गर्न अमेरिकाका विशिष्ट औषधि निर्माता कम्पनीहरुलाई छलफलका लागि आमन्त्रण गरेको जानकारी दिनुभयो ।

चीनको उहानबाट फैलिएको कोरोनाभाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारत समेत विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सङ्क्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको छ ।

चिनियाँ स्वास्थ्य आयोगले शनिबार कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । चीनमा मात्र हालसम्म दुई हजार ८३५ जनाको ज्यान गइसकेको छ ।