neapl investment mega bank

आजदेखि मौसम सुधार हुने

Feb 27th, 2020

काठमाडौँ, १५ फागुन (रासस)

पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन”, उहाँले भन्नुभयो । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुला भई घाम लाग्ने बताइएको छ । राति देशका मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने औँल्याइएको छ ।

शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपछि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १४ दशमलव एक डिग्री सेल्सियस छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको छ ।