सुर्खेत, १४ फागुन (रासस)
निर्माण पूरा भएको एक वर्षपछि भेरी–बबई डाइर्भसन आयोजनाको सुरुङ हस्तान्तरण हुने भएको छ । सुरुङको निकास तथा प्रदेशद्वार क्षेत्रमा बायो इञ्जिनीयरिङ कार्य सम्पन्न गर्न बाँकी रहेकाले निर्माण कम्पनीलाई सुरुङ हस्तान्तरण गर्न करिब डेढ महिना लाग्ने भएको हो ।
चाइना इञ्जिनीयरङ ओभरसिज प्रालि (कोभेक)ले टनेल बोरिङ मेशिन (टिबिएम) को सहायताले १२ किमी २१० मिटर सुरुङ खनेको थियो । गत वर्ष चैतमा सुरुङ निर्माण कार्य सम्पन्न भएको थियो । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनीयर कृष्णप्रसाद उपाध्यायले बायो इञ्जिनीयरिङको काम सकिएलगत्तै कोभेकले सुरुङ हस्तान्तरण गर्ने बताउनुभयो । “सम्झौतामा टनेल निर्माणसँगै बायो इञ्जिनीयरिङको काम पनि कोभेकले नै गर्नुपर्ने उल्लेख थियो, अहिले डकुमेन्ट तयार गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “यी सबै कामका कम्तीमा डेढ महिना लाग्छ, त्यसपछि आयोजनालाई टनेल हस्तान्तरण हुनेछ ।”
चिनियाँ कम्पनी कोभेकले २०७४ कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो । सिँचाइ विभाग र कोभेकबीच २०७६ चैत १५ गतेसम्म सुरुङ खनिसक्नुपर्ने सम्झौता भए पनि एक वर्षअगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र कोभेकले चौतर्फी प्रशंसा बटुलेका थिए । टिबिएम अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित उपकरण हो । जुन नेपालले पहिलोपटक सुरुङ खन्न यहाँ प्रयोगमा ल्याएको हो ।
आयोजनाका अनुसार हाल सुरुङ ९टनेल० फिनिसिङको कार्य पूरा भएको छ । यसअन्तर्गत सुरुङ मर्मतसम्भार, सरसफाइ गर्नेलगायतका काम पर्दछन् । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धिमा पर्दछ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर (सिडिइ) उपाध्यायले हालसम्म ४० प्रतिशत निर्माण कार्य पूरा भएको बताउनुभयो । दोस्रो चरणको ठेक्का अन्तर्गत बाँध (ड्याम) र विद्युत् गृह (पावरहाउस) निर्माणको कार्य शुरु भइसकेको छ ।
चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच यही साउन १३ गते दोस्रो चरणको ठेक्का अघि बढाउने सम्झौता भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाँधस्थल चिप्लेमा यही मङ्सिर १६ गते दोस्रो चरणको निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो । आयोजना क्षेत्रमा रुख कटान, डिजाइन सर्भेलगायतका काम सम्पन्न भइसकेका छन् । दोस्रो चरणमा छ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत्गृहलगायतका संरचना पर्दछन् ।
यसका लागि आयोजनाले रु छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्न कार्यादेश छ । आयोजनाले बाँध, विद्युत्गृहसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य अघि बढाएको जनाएको छ ।
त्यस्तै, प्रभावित क्षेत्रका बासिन्दाको सामाजिक आर्थिक विकासका लागि भेरी र बबई करिडोरमा सिँचाइ, तटबन्ध लगायतका विभिन्न योजनाहरु सञ्चालनमा छन् । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य छ । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा–११ हात्तीखालस्थित बबई किनारमा भेरीको पानी खसालिनेछ । जहाँ जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाले भेरीबाट प्रति सेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ ।
सिँचाइ विभागले भेरी बबईबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र १२ महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेशिनबाट सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई ‘राष्ट्रिय गौरव’को ‘नमूना आयोजना’ रुपमा परिभाषित गरिएको छ ।