neapl investment mega bank
  • गृहपृष्ठ
  • भोजराज पोखरेललाई यस वर्षको कर्मयोगी बद्री पहाडी पुरस्कार

भोजराज पोखरेललाई यस वर्षको कर्मयोगी बद्री पहाडी पुरस्कार

Feb 25th, 2020

काठमाडौ, फागुन १३

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाज सेवा पुरस्कार‘ भोजराज पोखरेललाई प्रदान गर्ने निर्णय गरिएको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्वाह गर्नुभएको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७६ चैत १ गते शान्ति समाजद्वारा काठमाण्डौँमा आयोजना गरिने एक विशेष कार्यक्रममा रु. १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पोखरेललाई पुरस्कृत गरिने छ ।

२०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐसेलुखर्कमा जन्मिनुभएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी तीन दशक भन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्व वहन गर्नुभएको थियो ।

सन् २००८ मा वंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०/११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्रसंघका महासचिवले श्री पोखरेललाई दुई पटक उच्च स्तरीय प्यानलमा नियुक्त गर्नुभएको थियो । युनाइटेड स्टेट्स इन्स्टीच्युट अफ पिस वासिङ्टन डिसिको सिनियर फेलो र हार्वड केनेडी स्कुलको म्यासन फेलो पोखरेल सन् २०१५ मा म्याङमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह अध्यक्ष हुनुहुन्थ्यो भने हाल उहाँ कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समुहको सदस्य हुनुहुन्छ ।