neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्रम्पको भ्रमणले भारत—अमेरिका सम्वन्धमा इट्टा थप्ने विश्वास

ट्रम्पको भ्रमणले भारत—अमेरिका सम्वन्धमा इट्टा थप्ने विश्वास

Feb 25th, 2020

ग्रेटर नोइडा, १३ फागुन (रासस/एएनआई)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्वन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन् ।

पूर्वराजदूतद्वय जितेन्द्र कुमार त्रिपाठी र अशोक साज्जान्हारले दुई देशको रणनीतिक सहकार्यमा ट्रम्पको भारत भ्रमणले प्रभाव पार्ने अपेक्षा गर्नुभएको छ ।

“सन् २०२० देखि दुई देशको सम्वन्धमा उतार चढाव आइरहेको छ, ट्रम्पको अहिलेको भ्रमणले अमेरिकासँगको भारतको सम्वन्धलाई उचाईमा पु¥याउने देखिन्छ,” त्रिपाठीले एएनआईसँग भन्नुभयो ।

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीका बीचमा रक्षा, उर्जा, ‘एच–वन बी–वन’ भिषा, भ्रष्टाचार नियन्त्रण र व्यापारलगायतका विषयमा छलफल हुने त्रिपाठीले अनुमान गर्नुभयो ।

अर्का पूर्व राजदूत अशोकले भने उहाँहरूका बीचमा रणनीतिक साझेदारीता, आतङ्कवाद, रक्षा आणविक उर्जा सहकार्य, इन्डो प्यासेफिक रणनीतिलगायतका बारेमा कुराकानी हुनसक्ने बताउनुभयो ।

तीव्र गतिमा विकास गरेको चीनलाई कसरी चुनौती दिने भन्ने विषयमा पनि उहाँहरुले महत्वका साथ छलफल गर्ने अशोकको बुझाई छ ।

“चीनको वन बेल्ट वन रोड (ओविओआर) परियोजनाको विकल्पमा छुट्टै परियोजना आफुहरुले पनि ल्याउने र त्यसका लागि अमेरिका, भारत, जापान, अष्ट्रेलियालगायतका देशहरुका बीचमा गठबन्धन गराउने विषयमा पनि उहाँहरूले छलफल गर्नुहुन्छ जस्तो मलाई लाग्छ,” उहाँले भन्नुभयो ।

अफ्गानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने अमेरिकाको योजनाका बारेमा पनि ट्रम्प र मोदीले विचार विमर्श गर्नसक्ने उहाँले बताउनुभयो ।

व्यापार तर्फको विषयमा भने दुवै विज्ञले समान धारणा राख्नु भएको छ । उहाँहरुले यो भ्रमणबाट व्यापारको क्षेत्रमा केही सुधार भने अवश्य हुने अपेक्षा गर्नुभएको छ । तर अमेरिकी विदेश मन्त्रालयले शनिबार भ्रमण कार्यक्रमबारे दिएको जानकारीमा यस भ्रमणका अवसरमा दुई मुलुकबीच व्यापार सम्झौता नहुने तर यसका विविध क्षेत्रमा छलफल गरिने र निकट भविष्यमा सम्झौता गर्ने आधार तय गरिने बताइएको थियो ।

ट्रम्प र मेलानियाद्वारा ताज महलको अवलोकन भ्रमण

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले सोमबार नै ताज महलको भ्रमण गर्नुभएको छ । उहाँहरूलाई उक्त अवसरमा सत्रौँ शताब्दीमा निर्मित विश्व प्रसिद्ध भारतीय पर्यटकीय स्मारकबारेमा जानकारी गराइएको थियो ।

अहमदाबादबाट आग्रा पुगेका अमेरिकी उच्च पदाधिकारीले मुगल शासक शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा निर्माण गरेको स्मारकको ध्यानपूर्वक अवलोकन गर्नुभएको थियो ।

आग्रा एयरपोर्टमा आइपुगेपछि ट्रम्प दम्पत्तीले उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको थियो ।

पाहुनाहरूलाई स्वागत गर्न विमानस्थलमा लोक नृत्य तथा झाँकीहरू प्रस्तुत गरिएका थिए । उहाँहरूलाई विमानस्थलबाट ताजमहलसम्म पुग्ने बाटोमा हजारौँको सङ्ख्यामा उपस्थित स्थानीयहरूले भारतीय तथा अमेरिकी झण्डा हल्लाएर स्वागत गरेका थिए । भ्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ताजमहलमा राखिएको आगन्तुक पुस्तिकामा लेख्नुभयो, “ताजमहलले मोहित तुल्याउँछ । यो भारतीय संस्कृतिको समृद्ध र विविध सौन्दर्यको शाश्वत प्रमाण हो ।”

ट्रम्प दम्पत्तीले भ्रमणका लागि विशेष छानेको उक्त ऐतिहासिक स्थलमा बेलायती राजकूमारी डायना, राजकूमार विलियम, केट मेडल्टन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँको परिवार र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँलगायतका विश्वका उच्च पदस्थ अधिकारीहरूले पनि भ्रमण गरेका थिए ।