neapl investment mega bank
  • गृहपृष्ठ
  • वाग्मती प्रदेशसभामा प्रदेश लोसेआ ऐन पारित

वाग्मती प्रदेशसभामा प्रदेश लोसेआ ऐन पारित

Feb 24th, 2020

हेटौँडा, १२ फागुन (रासस)

वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसहमतिबाट पारित गरिएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकसेवा आयोग ऐन २०७६ को प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले लोकसेवा आयोगलाई स्वायत, पारदर्शीका साथ आफ्नो जिम्मेवारी बहन गर्न केही सुविधायुक्त सेवाहरु थप गर्नुपर्ने सदस्यको सुझाव अनुरुप समावेश गरिएको हो भन्नुभयो । उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठन गर्न बनेको विधेयकलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्तावको विधेयकमाथि सैद्धान्तिक पक्षमा सहभागी हुँदै सदस्यले प्रदेशका युवा समुदायलाई उद्यमशीलता, परोपकारी, दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा परिषद् गठन गर्दा दलगत स्वार्थभन्दा माथि उठेर युवा समुदायलाई समेटिनु पर्ने सुझावहरु राख्नुभएको थियो ।

उहाँहरुले युवालाई नैतिक शिक्षाको अध्ययन गर्न विपत्को व्यवस्थापनमा तत्काल उद्धार गर्न र गुणात्मक जनशक्तिलाई विकासको पूर्वाधार विकासमा सहभागी गराउने नीतिगत कार्यक्रम समावेश गर्न आग्रह गर्नुभयो ।

उहाँहरुले प्रदेश सरकारले उक्त ऐनलाई लागुगर्ने क्रममा सबै युवा समुदायलाई योग्यता, क्षमता र प्रतिभाअनुसार निष्पक्षका साथ सहभागी गराउन माग गर्नुभयो । सामाजिक विकासमन्त्री युवराज दुलालले विधेयकको सैद्धान्तिक पक्षमा उठेको जिज्ञासालाई उत्तर दिँदै सरकारले युवा समुदायलाई गुणात्मक दक्ष जनशक्ति उत्पादन गर्ने र खेलकूद, साहित्य र पत्रकारिताको क्षेत्रको विकासमा नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवमा क्रमशः योजना कार्यान्वयन गर्नेतर्फ लक्ष्य रहेको बताउनुभयो ।

बैठकको शून्य समयमा बोल्नुहुँदै सदस्यहरुले मुलुकका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक फागुन १९ गते दिनको १ बजे बस्नेछ ।