neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना

राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना

Feb 24th, 2020

काठमाडौँ, १२ फागुन (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ ।

ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उहाँले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ग्याल्बो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वमा समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाइ गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मिठो परिकारका साथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् ।