neapl investment mega bank
  • गृहपृष्ठ
  • इजरायलमा एक वर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी, मतदाता निराश

इजरायलमा एक वर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी, मतदाता निराश

Feb 23rd, 2020

जेरूसेलम, ११ फागुन (रासस/एएफपी)

इजरायलमा मुख्य दलहरुबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक बर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी भइरहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोचक हुने सङ्केत गरेको छ ।

गत वर्ष अप्रिल र सेप्टेम्बरमा सम्पन्न दुईवटा चुनावमा दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका मुख्य प्रतिद्वन्द्वी ब्लू एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेन्नी गान्जले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् । उहाँहरु दुबैले सरकार गठनका लागि साना दलसँग पनि समझदारी निर्माण गर्न नसक्दा तेस्रो चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको हो ।

पटकपटकको चुनावबाट थकित भइसकेका इजरायलीहरूले आगामी मार्च २ मा हुन लागेको आमचुनावमा पनि त्यति उत्साह देखाएका छैनन् । राजनीतिक सहमति नभए वर्षान्तमा चौथो चुनाव हुने अड्कलबाजी गर्न थालिएको छ ।

तर अघिल्लो चुनावभन्दा यसपटक भिन्न अवस्था देखा पर्दैछ । इजरायलका सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री रहनु भएका नेतान्याहुमाथि पदमै रहँदा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको छ ।

गत नोभेम्बरमा उहाँमाथिका प्रमाणहरु सार्वजनिक गरिएको थियो भने गत महिना अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा उहाँमाथि घूसखोरी, धोखाधडी र विश्वास भङ्ग गरेको आरोप लगाइएको छ ।

प्रधानमन्त्री नेतान्याहुले आफूविरुद्ध लगाइएका आरोपहरु झुठा रहेको भन्दै निरन्तर अस्वीकार गरिरहनु भएको छ । उहाँमाथि लागेको सबैभन्दा गम्भीर आरोप टेलिकम क्षेत्रको रहेको छ ।
नेतान्याहुमाथिको मुद्दाको सुनुवाई आगामी मार्च १७ तारिखबाट शुरु हुँदैछ ।

ट्रम्पको सहयोग

पछिल्लो चुनावदेखि नै नेतान्याहुलाई सहज हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौं लामो इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्ने आफ्नो विवादास्पद योजना सार्वजनिक गर्नु भएको छ । तर प्यालेस्टानीहरुले इजरायली उद्देश्यहरूको पक्षपोषण गरेको भन्दै ट्रम्पको योजनालाई अस्वीकार गरिसकेका छन् ।

गत महिना यो पहलको घोषणा गर्नुअघि ह्वाइट हाउसमा ट्रम्पको छेउमै उभिएका नेतान्याहुले यसलाई यहूदी राज्यको लागि “ऐतिहासिक” अवसर भन्दै स्वागत गर्नु भएको थियो ।

उहाँले यस सम्झौतालाई ट्रम्पसँगको आफ्नो व्यक्तिगत घनिष्ट सम्बन्धको परिणामको रूपमा चित्रित गर्नु भएको छ । अमेरिकी योजनाको कार्यान्वयन आफू पुनः प्रधानमन्त्री चयन भएमा मात्र कार्यान्वयन गर्न सकिने नेतान्याहुको धारणा छ ।

तर नेतान्याहुमाथिको फौजदारी अभियोग वा इजरायल समर्थक ट्रम्पको पहलले चुनावलाई प्रभाव पार्न सकेको छैन ।

पछिल्ला चुनावी मतसर्वेक्षणले नेतान्याहूको लिकुड पार्टी र ब्लू एन्ड ह्वाइट पार्टी दुबैले संसदमा बहुमत जुटाउन नसक्ने देखाएका छन् । इजरायली संसद नेसेटमा बहुमत प्राप्त गर्न ६१ सिट आवश्यक पर्दछ ।

जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक गिदोन राहातले प्रधानमन्त्री नेतान्याहुका लागि चुनावमा यथास्थितिको अवस्था निकै खुशीको समाचार हुन सक्ने बताउनुभयो ।

राहातले भन्नुभयो, “नेतान्याहुले मतदातालाई आकर्षित गर्न चाहनु भएको छैन, तर आफ्ना मतसंख्या नघटोस् भन्नेमा मात्र उहाँको ध्यान छ ।”

इजरायलका पूर्व सैन्य प्रमुख गान्जले कानुनी झमेलाका कारण नेतान्याहुले मुलुकलाई राम्रोसँग सम्हाल्न नसक्ने बताउनुभयो ।

“नेतान्याहुलाई अदालतमा उपस्थित हुनु पर्नेछ । उहाँ इजरायली नागरिकको आवश्यकताको हेरविचार गर्न अक्षम हुनु हुनेछ,” गान्जले यसै साता एक कार्यक्रममा भन्नुभयो ।

यसैबीच, इजरायली सरकारी वकीलहरूले गान्जको अध्यक्षतामा रहेको एक साइबर सुरक्षा फर्मले गलत ढङ्गबाट सरकारी कोष प्राप्त गरे नगरेको बारे अनुसन्धान गरिरहेको छ ।

तर महान्यायाधिवक्ताले गान्जमाथि व्यक्तिगत रुपमा अनुसन्धान नगरिएको जनाएका छन् ।

अन्तिम क्षणका आरोप प्रत्यारोप

नेतान्याहुले विगतका चुनावी नाराझैं अन्तिम समयमा आफूलाई महान राष्ट्रवादी, दक्षिणपन्थी समर्थकका रुपमा उभ्याउने सङ्केत फेरि पनि देखिइ सकेको छ ।
शुक्रबार जेरूसेलम पोस्टसँगको अन्तर्वार्तामा उहाँले गान्जले मुख्य रूपमा अरब ज्वाइन्ट लिस्ट र यसका नेता अहमद टिबीको समर्थन बेगर सरकार गठन गर्न नसक्ने पुनः चेतावनी दिनु भएको छ ।
गत चुनावमा नाटकीय रुपमा अरब ज्वाइन्ट लिस्टले १३ स्थानमा विजयी भएर संसदको तेस्रो ठूलो दल बनेको थियो ।

“लिकुडले नजितेको अवस्थामा या त चौथो पटक आमचुनाव हुनेछ वा गान्जको नेतृत्वमा वामपन्थी सरकार बन्नेछ जसमा अहमद टिबी र अरब ज्वाइन्ट लिस्टमा परनिर्भर हुनु पर्नेछ,” नेतान्याहुले बताउनुभयो ।

प्रधानमन्त्री नेतान्याहुले यसै हप्ता पनि हजारौं नयाँ यहुदीका लागि आवास बनाउने घोषणा गर्नु भएको छ । यो आवास योजना अन्तर्राष्ट्रिय समुदायले अवैध मान्ने गरेको पूर्वी जेरुसेलममा सञ्चालन हुनेछ ।

प्यालेस्टानी नेताहरूले चुनावमा प्रभाव पार्न नेतान्याहुको यो चाल हो भन्दै भत्र्सना गरेका छन् । दुबै मुख्य दलहरु चुनावमा कम मतदान नहोस् भन्ने पक्षमा छन् ।

“संसारको अन्त जहाँसुकै होस् एकै वर्ष छिटोछिटो तीनवटा चुनाव हुँदा मतदातामा नैराश्यता छाउनु स्वाभाविक हो,” राहातले भन्नुभयो ।

तर अप्रिलको तुलनामा सेप्टेम्बरमा मतदान केही बढेको थियो ।

“त इजरायलमा तपाईंले केही अनुमान लगाउन सक्नु हुन्न,” राहातले बताउनुभयो ।