neapl investment mega bank
  • गृहपृष्ठ
  • सोधानान्तर स्थिती बचतमा, विदेशी मुद्रा सञ्चीति १० खर्ब ९५ अर्ब

सोधानान्तर स्थिती बचतमा, विदेशी मुद्रा सञ्चीति १० खर्ब ९५ अर्ब

Feb 23rd, 2020

आधारभूमी संवाददाता

काठमाडौं,फागुन ११

गत वर्ष घाटामा रहेको सोधानान्तर स्थिती यो वर्ष भने रु.२६ अर्ब ६५ करोडले बचतमा छ । निर्यातमा भएको बृद्धि, आयातमा आएको कमिले गर्दा सोधानान्तर स्थिती बचतमा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महिनासम्ममा ५५ करोड ९५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको छ ।

सोधान्तर स्थितीमा भएको सुधारले विदेशी मुद्रा सञ्चिीति पनि बढाएको छ। गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले बृद्धि भई २०७६ पुस मसान्तमा १० खर्ब ९५ अर्ब ९८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ पुस मसान्तमा ९ अर्ब ६९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ पुस मसान्तमा रु.९४७ अर्ब ३८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ पुस मसान्तमा १ खर्ब ४८ अर्ब ५९ करोड पुगेको छ । २०७६ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

त्यसैगरि यो ६ महिनाको अवधिमा चालु खाता घाटा ८४ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५२ अर्ब १६ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनासम्ममा १ अर्ब ३३ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७४ करोड ३९ लाख रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४६ करोड र प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रहेको थियो ।

अवधिमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले बृद्धि भई ४४७ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १७.६ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.३ प्रतिशतले घटेको थियो ।