neapl investment mega bank
  • गृहपृष्ठ
  • तेस्रो नेपाल–बङ्गदालेश युवा सम्मेलन काठमाडौँमा शुरु

तेस्रो नेपाल–बङ्गदालेश युवा सम्मेलन काठमाडौँमा शुरु

Feb 22nd, 2020

काठमाडौँ, १० फागुन (रासस)

तेस्रो नेपाल–बङ्गलादेश युवा सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । युवा विकास केन्द्र, सरसफाइ, वातावरण तथा ऊर्जा नेपाल, दक्षिण एशिया पाटनरसीप (साप) नेपालको आयोजना तथा नेपालस्थित बङ्गलादेश राजदूतावासको समन्वयमा आजदेखि काठमाडौँमा सम्मेलन शुरु भएको हो ।

सम्मेलनमा बङ्गलादेशबाट २५, नेपालबाट ७५ युवासहित केही नेदरल्याण्ड र भारतका विज्ञहरुको सहभागिता रहेको सम्मेलन आयोजक समितिका संयोजक अभिनभकुमार चौधरीले जानकारी दिनुभयो । सम्मेलनले युवा र युवाबीचको साझेदारीको विकास गर्ने तथा संस्कृतिक हस्तान्तरण, अनुभव आदानप्रदान, आपसी सम्बन्ध विस्तार, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

दुईदिने सम्मेलनको आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले उद्घाटन गर्नुभयो । मन्त्री रायले युवाको व्यक्तित्व विकास र आपसी सम्बन्ध सुधारका लागि यस्ता सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्षको अवसरमा आयोजित उक्त कार्यक्रमले पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । नेपाल र बङ्गलादेशको भषा, संस्कृति र खानपानसमेत उस्तै–उस्तै रहेको उल्लेख गर्दै उहाँले सहकार्य र सुमधुर सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते शाम्सले नेपाल र बङ्लादेश बीचको पुरानो सम्बन्ध स्मरण गर्दै दुई देशबीच विद्युत् खरिद सम्झौता भइसकेकाले यसबाट अझै विशेष सम्बन्ध बढ्ने बताउनुभयो । उहाँले दुई देशबीचमा सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिँदै नेपालको पूर्वभागको ‘कनेक्टिभिटी’लाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा दिगो विकास लक्ष्य, उद्यमशीलता, सामाजिक विकास, जलवायु परिवर्तन, सुशासनलगायत विषयमा छलफल हुनेछ । यस्तै दुई देशका कलाकारबाट संयुक्त सांस्कृति कार्यक्रमसमेत आयोजना गरिएको छ । सम्मेलनमा सहभागी आयोजक समितिका सल्लाहकार पदमराज जोशीले नेपाल र बङ्गलादेशबीच यस्ता कार्यक्रम वर्षको चार÷पाँच हुन थालेको उल्लेख गर्नुभयो । उहाँले यस्ता अभियानले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्नुका साथै आपसी सम्बन्ध विकासमा कोेशेढुङ्गा हुने बताउनुभयो ।

नेपाल र बङ्गलादेशको सम्बन्ध सुमधुर हुँदाहुँदै पनि नेपालमा आउने बङ्गलादेशी पर्यटकको सङ्ख्या भने न्यून छ । गत वर्ष जम्मा २६ हजार पर्यटक मात्रै नेपाल भित्रिएको अध्यागमन विभागको अभिलेखमा उल्लेख छ ।