neapl investment mega bank
  • गृहपृष्ठ
  • मानवअधिकारबिना सुशासन कायम हुन्न : सभामुख श्रेष्ठ

मानवअधिकारबिना सुशासन कायम हुन्न : सभामुख श्रेष्ठ

Feb 22nd, 2020

काठमाडौँ, १० फागुन (रासस)

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मानवअधिकारबिना सुशासन कायम गर्न नसकिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७औँ को वार्षिकोत्सवमा बोल्दै उहाँले देशमा मानवअधिकारको रक्षा नगरेमा सुशासन कायम गर्न सरकारलाई समस्या हुने भन्दै सुशासन कायम गर्न मानवअधिकार आवश्यक छ भन्नुभयो ।

उहाँले मानवअधिकारसम्बन्धी कानून हुँदाहुँदै पनि कहिलेकाहीँ कार्यान्वयन पक्ष अलि फितलो भइदिँदा उल्लङ्घनका घटना हुने गरेको बताउनुभयो । सभामुख श्रेष्ठले भन्नुभयो, “संविधानले मानवअधिकारलाई प्रत्याभूत गरेको भएता पनि अधिकारलाई व्यवस्थित, मर्यादित र सहज ढङ्गले सदुपयोग गर्न नजान्दा मानवअधिकारको रक्षा गर्न नसकिएको हो ।” उहाँले सरकारलाई मानवअधिकार उल्लङ्घन हुन नदिनका लागि कार्यान्वयन पक्षमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मी स्व इन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार सम्मान २०७६ बाट कूटनीतिज्ञ तथा पूर्व सांसद हिरण्यलाल श्रेष्ठलाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो ।