neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

Feb 21st, 2020

काठमाडौँ, ९ फागुन (रासस)

महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । आज साँझ पशुपतिनाथ मन्दिर पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सदस्य–सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

पशुपति दर्शन विधिअनुसार मूलमन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले पूजा आराधना एवं दर्शन गर्नुभएको कोषका सदस्य–सचिव ढकालले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिनुभएको थियो ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गर्नुभएको थियो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ ।

पशुपतिनाथ मन्दिर दर्शनका लागि लाइनमा बस्नेलाई आज रातभर पनि ढोका खुला रहने कोषले जनाएको छ । लाइनमा बस्ने भक्तजन सकिएपछि विशेष पूजाका लागि रसिद लिएका भक्तजनबाट पूजा आराधना गराइने छ । महाशिवरात्रिका दिन रात्रिकालको विशेष पूजाका लागि ३०० भन्दा बढी भक्तजनले रसिद काटेको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिनुभयो ।

आज बिहान २७ जना र दिउँसो करिब ९० जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराएका थिए । दिउँसो धेरै भक्तजनको भीड लाग्ने भएकाले विशेष पूजाको धेरै रसिद नकाटिएको कोषले जनाएको छ ।

महाशिवरात्रिका अवसरमा बिहीबारदेखि नै देश विदेशका भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको थियो । साधुसन्त भने बुधबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका छन् । यसवर्ष करीब चार हजार साधुसन्त पशुपति क्षेत्रमा आएका छन् । करीब ४०० भन्दा बढी नागा बाबा फागुन कृष्ण एकादशीदेखि पशुपति मूलमन्दिर परिसरमै बसेका छन् ।

पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा आएका सबै साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन गुठी संस्थान र कोषले दान दक्षिणासहित बिदाइ गर्ने जनाइएको छ । पशुपति क्षेत्र र टेकु एवं थापाथली क्षेत्रका विभिन्न अखडामा बसेका साधुसन्तलाई संस्थान तथा कोषले खाने एवं धुनीका लागि दाउरा दिएको संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई दिउँसोदेखि परेको पानीले प्रभावित बनाएको थियो । यसवर्ष विशेष सजावट गरिएकाले सामान्य पानी भने मूल मन्दिर वरपरको क्षेत्रमा छेकिएको देखिन्थ्यो । विगतभन्दा पशुपतिमा शिवरात्रि मेला व्यवस्थित देखिए पनि स्वयंसेवक र सुरक्षाकर्मीले आफ्ना मान्छे छिराएर लाइनमा बस्नेलाई दुःख दिएको गुनासो पनि भक्तजनको थियो । राष्ट्रपतिको समाचार सङ्कलनका लागि पशुपति क्षेत्र पुगेका केही सञ्चारकर्मीलाई समेत सुरक्षा निकाय र स्वयंसेवकले मूल प्रवेशमै रोकेका थिए ।