आधारभूमी संवाददाता
काठमाडौं, फागुन ८
नेपालीहहरुले विदेश भ्रमण र शिक्षाका लागि खर्चने रकममा कमि आएको छ ।
भ्रमण व्यय २१.७ प्रतिशतले घटी ३७ अर्ब ५९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको खर्च १७ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४७ अर्ब ९९ करोड रहेकोमा शिक्षातर्फको खर्च रु.२५ अर्ब ५९ करोड रहेको थियो ।
गत आर्थिक वर्षको असोज मसान्तमा मुलुकमा भित्रिने रकमको तुलनामा बाहिरिने रकम अर्थात् शोधानान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा रह्यो । त्यसपछि यसलाई रोक्न राष्ट्र बैंकले गत वर्षकै कात्तिकमा एक निर्देशन जारी गर्दै विदेश घुम्न जादा पाइने विदेशी मुद्रा सटही सुविधा २५ सय डलरबाट १५ सयमा झारेको थियो ।
त्यसपछि गतपुसमा थप कडाइ गरी ट्राभल एजेन्सीलाई बुझाएको रकमसहित जम्मा १५ सय अमेरिकी डलरमात्र सटही सुविधा पाउने व्यवस्था गरिदियो । त्यसले नै विदेश घुम्न जाँदा नेपालीहरुले खर्चने रकम घटेको देखाएको हो ।
नेपाल राष्ट्र बैंकले विदेशी मुदां सटहीमा कडाई गरेसँगै विदेश घुम्न जानेहरुमा पनि कमि आएको छ । विदेशीने रकममा कमि आउँदा कतै हुण्डी बढेको त होइन भन्ने आशंका पनि उब्जेको छ । पर्यटन व्यवसायीहरुका अनुसार अहिले केहिले बिदेश घुम्न जाँदा यहाँ कुनै ट्राभल कम्पनीलाई पैसा तिर्ने र उता फेरी ट्राभलर पार्टनरले पैसा उपलब्ध गराउने प्रचलन बढेको छ।
जसका कारण नै रेमिट्यान्समा कमि आएको केहि बिज्ञहरु तर्क गर्छन् । विदेश काम गर्न जानेहरु १७ प्रतिशत बढ्दा पनि रेमिट्यान्स भने पोहर सालकै हाराहारीमा छ । जसका कारण पनि कतै यसले हुण्डी त बढाएन भनेर आशंका हुन थालेको हो ।
पढ्न जानेहरुबाट बाहिरिने रकममा पनि कमि आएको छ । गत वर्षपुससम्ममा विदेश भ्रमणका लागि देशबाट ४७ अर्ब रुपैयाँ बाहिरिएकोमा यो वर्षको सोही अवधिमा यस्तो खर्च ३७ अर्ब ५८ करोडमा सीमित भएको छ । जुन गत वर्षको तुलनामा २१ प्रतिशत कम हो । जबकि, गत वर्ष अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ३० दशलमलव ८ प्रतिशतले बढेको थियो । यसलेमुलुकको शोधनान्तर स्थिति बढाउन मद्धत गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा कडाइ गरेपछि पछिल्लो समय अमेरिका र युरोप घुम्ने क्रम पनि घटेको ट्राभल एजेन्सीहरु बताउँछन् ।