neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ

Feb 19th, 2020

बारा, ७ फागुन

सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा ३ जनालाई गत माघ २० गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने ४९ वर्षीय बलराम रौनियार, पर्सा बहुदरमाई नगरपालिका-३ बस्ने ३५ वर्षीय सलिम मिंया र बहुदरमाई नगरपालिका-२ बस्ने २४ वर्षीय सुनिल कुमार यादव रहेका छन् । जितपुरसिमरा उपमहानागरपालिका-२ स्थितमा रहेको कित्ता नम्बर ११३० भएको १० धुर जग्गाको किर्ते जग्गा धनी पूर्जा बनाई बिक्री वितरण गर्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले गत माघ २३ गते पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा महागढीमाई नगरपालिका-८ बस्ने ३९ वर्षीय वोहाव अन्सारी, बारा कलैया उपमहानगरपालिका-६ बस्ने ५९ वर्षीय प्रहलाद प्रसाद रेग्मी, कैलाली गोदावरी नगरपालिका-११ बस्ने ५० वर्षीय चन्द्र बहादुर सिंह र प्युठान खाल घर भई दाङ घोराही उपमहानगरपालिका-१८ बस्ने ५९ वर्षीय हस्त बहादुर नेपाली रहेका छन् ।

उनीहरुले बारा जितपुरसिमरा उपमहानगरपालिका-२३ स्थित कित्ता नम्बर ३६२ क्षेत्रफल १-१०-०-० को नेपाल सरकारको नाममा रहेको जग्गाको विवादित जग्गाको सम्बन्धमा पुनस् निर्णय गर्न भनि मालपोत कार्यालय बाराको नाममा २०७४ मंसिर २८ गतेको सर्वोच्च अदालतको आदेशलाई तोडमोड गरी गलत मनशायले सर्वोच्च अदालतको लेटरप्याट बनाई किर्ते गरी २०७६ साल मंसिर ३ गते मालपोत कार्यालय सिमरा बारालाई अधिकृत वारेशनामा वोहाव अन्सारीको नाममा निवेदन दर्ता गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ व्यक्तिहरु उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।