neapl investment mega bank
  • गृहपृष्ठ
  • उपराष्ट्रपति पुनले गरे भेरी बबई आयोजनाको निरिक्षण

उपराष्ट्रपति पुनले गरे भेरी बबई आयोजनाको निरिक्षण

Feb 19th, 2020

सुर्खेत, फागुुन ७

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थलको निरिक्षण गर्नुभएको छ । उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि यहाँ आउनु भएका उपराष्ट्रपति पुनले मंगलबार साँझ भेरी नदिको चिप्लेमा निर्माण हुन लागेको व्यारेजको निरिक्षण गर्नुभएको हो ।

चिप्लेबाट बबई नदिसम्म १२ किलोमिटर लामो सुरुङमार्फत भेरीको पानी बबईमा पुर्याइदैछ । आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सुरुङमार्फत भेरीको पानी बबईमा पुर्याएर ४६ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने र सो पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

उपराष्ट्रपतिको निरिक्षणको क्रममा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्देशक सञ्जीब बरालले आयोजनाको काम तीब्रगतिमा अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले आर्थिक वर्ष २०६९/८० सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

उपराष्ट्रपति पुनले राष्ट्रिय गौरवको भेरी बबई आयोजनालाई नमूना आयोजनाको रुपमा विकास गर्न ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आयोजनाको सुरुङ निर्माण सम्पन्न लगायतका प्रगतिमा खुसी व्यक्त गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न सबैले इमान्दार भूमिका खेल्नुपर्ने बताउनुभयो ।