neapl investment mega bank

राष्ट्रिय समाचार समिति ५९ औँ वर्षमा

Feb 19th, 2020

काठमाडौँ, ७ फागुन (रासस)

मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५९ औँ वर्षमा प्रवेश गरेको छ । राससले अहिलेको सङ्घीय संरचनाअनुसार केन्द्रसहित सातै प्रदेशमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन गइरहेको छ ।

विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससको संस्थापक रामराज पौड्याल हुनुहुन्थ्यो । उहाँको अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्थ्यो ।

स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्य, तथ्य समाचार सङ्कलन एवम् वितरणको काम गर्दै आएको राससले हाल मुलुकको सङ्घीय संरचना अनुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । प्रदेश नं ३ र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय छन् ।

फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेसको स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसालेका थिए । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, अडियो, तस्बीरलगायत सेवा प्रदान गर्दै आएको छ ।

वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाबाट प्राप्त शुभकामना सन्देशमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका विकास र समृद्धिलाई गति दिन राससजस्तो देशव्यापी सञ्जाल भएको समाचार समितिको आवश्यकता र औचित्य झनझन बढिरहेको बताउनुभएको छ ।