neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्णाली उन्कृष्ट पर्यटकीय गन्तव्य : उपराष्ट्रपति पुन

कर्णाली उन्कृष्ट पर्यटकीय गन्तव्य : उपराष्ट्रपति पुन

Feb 18th, 2020

वीरेन्द्रनगर, ६ फागुन (रासस)

उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेशले पर्यटकीय हिसाबले उत्कृष्ट प्रदेशको रुपमा आफ्नो पहिचान बनाएको बताउनुभएको छ । वीरेन्द्रनगरमा आजदेखि शुरु भएकोे दोस्रो कर्णाली एक्सपोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कर्णाली पर्यटकीय हिसाबले नेपालकै अब्बल रहेको बताउनुभयो ।

“तपाईहरु एकपटक कर्णाली घुम्न अवश्य आउनुहोस्”, उपराष्टपति पुनले आग्रह गर्नुभयो, “विदेश भन्दा पहिला देशभित्र घुमौं ।” आफ्नो देश घुमेर देश चिन्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “विदेशमा घुमेर लाखांै खर्च गरेर होइन देशभित्र गरिने हजारांै खर्चले देशको समृद्धि बढ्छ ।”

कर्णाली नेपाली खस संस्कृतिको उद्गमस्थलको साथै जडीबुटी खनिज पदार्थको मुख्य क्षेत्रको रुपमा पहिचान रहेको उहाँले उल्लेख गर्नुभयो । “कर्णाली सामाजिक, सांस्कृतिक र विविधतामा धनी छ”, पुनले भन्नुभयो, “यहाँको पर्यटकीयस्थलले जहिले पनि मलाई आकर्षित गर्दछ । म विभिन्न पर्यटकीयस्थल पनि घुमेको छु ।”

उपराष्टपति पुनले सङ्घीय सरकारले यस क्षेत्रका लागि विशेष कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो । “आर्थिक विकासका लागि सार्वजनिक, निजी साझेदारीको तीन खम्बे नीति अवलम्बन गरिएको छ”, उहाँले भन्नुभयो, “सरकार एक्लैले मात्र विकास गर्न सम्भव छैन त्यसैले निजी क्षेत्रसँग पनि साझेदारी आवश्यक ।”

सबैभन्दा बढी सङ्घीयताको आवश्यकता कर्णालीलाई चाहिएको भन्दै उहाँले लामो समयदेखि उपेक्षित कर्णालीले आफ्नो भाग्य कोर्ने अवसर पाएको औल्याउनुभयो । कठिन भौगोलिक अवस्थाका साथै विकासका हिसाबले पिछडिएको कर्णालीलाई सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । सङ्घीयतापछि कर्णालीको विकास भएको भन्दै उहाँले प्राप्त उपलब्धिप्रति कर्णालीवासीले गौरव गर्नुपर्ने बताउनुभयो । कर्णाली प्रदेशमा कर्मचारी समायोजन भएर आउन नमानेको भन्दै उहाँले कर्मचारीको दीर्घकालीन समस्यामा ध्यान दिनुपर्ने बताउनुभयो । “सरकारले कर्णालीमा सरुवा हुँदा गर्वको महसुस हुने वातावरणको विकास गर्नुपर्छ”, उपराष्टपति पुनले भन्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासको लागि लागिपरेको बताउनुभयो । “अर्गानिक प्रदेशको रुपमा पहिचान गराउनको लागि हामीले महोत्सवको आयोजना गरेका हौ”, उहाँले भन्नुभयो, “हामीले कर्णालीको विकासका लागि औद्योगिक विकास र सम्भावनाको खोजी गरिरहेका छौ ।”

सुर्खेत उल्द्योग वाणिज्य सङ्घको अगुवाइमा ‘समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारःअर्गानिक कृषि, पर्यटन, जलस्रोत र उद्योग हुन पूर्वाधार’ भन्ने नारासाथ सञ्चालन गरिएको छ ।